सम्पत्ति शुद्धीकरण र राजस्व विभागसँग उद्योगी व्यापारीहरु तर्सनु पर्दैन : अर्थमन्त्री खतिवडा



प्रकाशित मिति : Feb 14, 2020
  • तारा आचार्य,

विराटनगर, २ फागुन । अर्थ मन्त्री डा.युवराज खतिवडाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागसंग उद्योगी व्यापारीहरु तर्सनु नपर्ने आफ्नो भनाइ पुनः दोहो-याउनु भएको छ ।

आर्थिक विकासको मुल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नारासहित विराटनगरमा शुक्रबारबाट सुरु भएको विराट एक्स्पो २०७६ को उद्घाट्न गर्दै मन्त्री खतिवडाले अनैतिक क्रियाकलाप गरी आर्थिक श्रोत जुटाउनेहरु मात्र तर्सनु स्वभाविक भएको धारणा व्यक्त गर्नु भयो ।

उहाँले गैरकानूनी मार्गबाट आर्थिक लाभ हासिल गरेको खण्डमा कानून पालना गराउन सम्पत्ति शुद्धीकरण र राजस्व अनसन्धान परिचालन हुने भएकाले कानूनको दुरुपयोग नगर्न सम्बन्धित निकायलाई निर्देशन दिईसकिएको जानकारी पनि दिनुभयो ।

मन्त्री खतिवडाले एकै व्यक्ति उद्योगी व्यवसायी, बैंकर, ठेकेदार गरी चारवटा भूमिकामा सरकारसंग माग राख्न आउने गरेकाले सरकार अलमलिएको चर्चा गर्दै एउटा विचार लिएर आए सरकार उद्योगी व्यवसायीको सल्लाह मान्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारको क्रियाकलापको कारण निजी क्षेत्र उत्साहित हुन नसकेको गुनासो गर्नुभएको थियो ।

उहाँले निजी क्षेत्रलाई निर्वाध काम गर्ने वातावरण सरकारले बनाई दिनुपर्ने र राजस्व संकलन बढ्ने धारणा व्यक्त गर्नुभयो ।

औद्योगिक क्षेत्रमा भईरहेको नविनतम प्रविधिको प्रयोग बारे जानकारी गराउन, कृषि क्षेत्रको व्यवसायीकरण गर्न तथा उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले सो विराट एक्स्पो आयोजना गरिएको हो ।

९ दिनसम्म चल्ने सो कृषि तथा औद्योगिक प्रदर्शनीमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका ३ सय ४० वटा स्टलहरु राखिएका छन् ।

करिब ३ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको सो प्रदर्शनीमा करिब १ अरब रुपैयाँ बराबरको कारोबार हुने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com