म्याग्नेसाइट उद्योग सञ्चालनका लागि स्थानीयले सहयोग गर्ने



प्रकाशित मिति : Feb 14, 2020

सिन्धुपाल्चोक, ०२ फागुन । १८ बर्षदेखि बन्द सिन्धुपाल्चोकको लामोसाँघुस्थित नेपाल ओरिण्ट म्याग्नेसाइट उद्योग सञ्चालनका लागि स्थानीय सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालकै ठूलो म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने सन्दर्भमा बिहीबार भएको छलफलमा सहभागी सरोकारवालाले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफलमा उद्योग बन्द हुनुको कारणबारे समीक्षासँगै सञ्चालनका लागि गर्नुपर्ने कामबारे बहस भएको थियो । छलफलमा सहभागी अधिकांशले कारखाना सञ्चालनका लागि केही प्रविधिक सुधार गर्नुपर्ने बताए ।

कारखाना सञ्चालन हुँदा अहिलेको अवस्थामा राष्ट्रका लागि ठूलो आम्दानी हुने र ठूलो संख्यामा स्थानीय युवाको लागि रोजगारी सिर्जना हुने सरोकारवाला स्थानीयको बुझाई छ ।

छलफलमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश २ बाट बागमती प्रदेशसभाका सदस्य एवम् अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले कारखानालाई प्रदेश मातहत ल्याउन सके छिटो सञ्चालन गर्न सकिने तर्क गरे ।

त्यस्तै छलफलमा सहभागी बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले स्थानीय रुपमा सहयोगको वातावरण बन्नुले कारखाना चल्नका लागि सहज वातावरण तयार भएको बताए ।

लिसङखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले कारखाना सञ्चालन गर्न पुनः सम्भाव्यता अध्ययन गर्नुपर्ने धारणा राखे ।

सलफलमा सहभागी नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, जिल्ला शाखाका महासचिव यादव दाहाल, कारखानाका पूर्व प्रवन्ध निर्देशक तथा हाल नेपाल ओरिण्ड म्याग्नेसाइटका सञ्चालक समितिका सदस्य दिनेश भट्टराई र पूर्वप्रमुख प्रशासक रामासिस मण्डलको पनि उपस्थिति थियो ।

भेलाले कारखाना सञ्चालनका लागि स्थानीय सरोकारहरूको प्रतिनिधिमूलक एक ‘नेपाल ओरिण्ड म्याग्नेसाइट सञ्चालन सहयोग समिति’ सर्वसम्मतले गठन गरेको छ ।

जसको नेतृत्व स्थानीय रामकृष्ण पराजुलीलले गरेका छन् । समतिको सचिवमा डा. विनोद नेपाल चुनिएका छन् ।

कारखाना स्थापना हुनुपूर्व भारतको उडिया कम्पनीको ४९ प्रतिशत र नेपाल सरकारको ५१ प्रतिशतमा सञ्चालन गर्ने संझौता भएको थियो ।

अहिले उक्त कम्पनी र नेपालको खेतान समूहबीचको बराबर हुनेगरी २५ प्रतिशत र नेपाल सरकारको ७५ प्रतिशत शेयर छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com