२ फाल्गुन २०७६, शुक्रबार

काठमाडाैं, २ फागुन । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्माबीचको जुहारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई हौस्याएको बताउनु भएको छ ।

जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गर्नुभएको थियो ।

सम्बाेधनकाे क्रममा अध्यक्ष प्रचण्डले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको गरेकाे पनि बताउनुभएकाे थियाे ।

अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिपछि कांग्रेसले सरकारको नेतृत्व गरेको नेकपाका अध्यक्ष जास्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्तिजनक जनाएको थियो ।

‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्ने स्व.गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक छ’ कांग्रेसले प्रेस विज्ञाप्ति निकाल्दै आपत्ति जनाएकाे थियाे ।

त्यसपिछ समाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले प्रतिक्रिया दिनुहुँदै प्रचण्ड र विश्वप्रकाशबीचको जुहारीले ‘राजतन्त्रवादी’ कमल थापालाई हौस्याएकाे देखिनु शोभनीय नभएकाे बताउनुभएकाे हाे ।

१२बुँदे समझदारीका मुख्य सूत्रधार आफू जिउँदै रहेकाे र कसैले दिउँसै रात पार्ने कोशिश गर्नु नहुने पनि बताउनुभएकाे छ । उहाँले लेख्नुभएके छ- ‘१२बुँदे समझदारीका मुख्य सूत्रधार हामी जिउँदै छँदाछँदै कसैले दिउँसै रात पार्ने कोशिश नगरून्! कसैको निगाहले हैन जनताको रगतले गणतन्त्र ल्याएको नभुलौं!’

LIVE TV