२ फाल्गुन २०७६, शुक्रबार

काठमाडौँ, २ फागुन । चीनमा कोरोना भाइरस प्रभावित हुबेई प्रान्तमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको विमान शनिबार दिउँसो २.४५ मा चीन जाने भएको छ ।

विमानमा चालक दलका सदस्य र चार स्वास्थ्यकर्मीसहित १९ जना रहनेछन् । हुबेई प्रान्तको वुहानबाट नेपालीहरुलाई लिएर सो वाइडबडी विमान आइतबार बिहान २ बजे काठमाडौं विमानस्थल अवतरण हुने बताइएको छ । काठमाडौंबाट वुहानको हवाई दूरी करिब तीन हजार किलोमिटर छ । त्यहाँ पुग्न करिब चार घण्टा लाग्नेछ । हुवेईमा रहेका १ सय ८७ जना नेपालीहरुले उद्धारका लागि आग्रह गरेका छन् ।

जसमध्ये धेरैजसो विद्यार्थी छन् । बेइजिङस्थित दूतावासका उपप्रमुख सुशील लम्सालले वुहान सहरभन्दा बाहिर रहेका नेपालीहरुलाई विमानस्थलसम्म ल्याउन मोटरको व्यवस्था भइसकेको जनाएका छन् ।

चीनबाट फर्काएर ल्याउने नेपालीको वुहान र काठमाडौं दुवै स्थानमा स्वाथ्य परीक्षण हुने छ । संक्रमणको लक्षण देखिए उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिने छ भने कुनै लक्षण नभए दुई साताको क्वारेन्टाइनमा पठाइने छ ।

LIVE TV