२ फाल्गुन २०७६, शुक्रबार
  • घनश्याम मिश्र

धनुषा, २ फागुन । दिलीपलाई पर्यावरण सहीद घोषणा गर्न माग चौतरर्फी उठिरहेको बेला अवैद्य खोला उत्खनन गर्दा टिपरले किचेर हत्या गर्ने क्रसर संचालक सहित तीनजना पूर्वपक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत धनुषाको आदेशमा क्रसर सञ्चालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

यस्तै पक्राउ मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुघन महतो जनही २५ हजार धरौटी साधारण तारेखमा रिहा भएको जिल्ला अदालत धुनषाले जनाएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यस्तो आदेश दिएको हो । हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ ।

विहान खोला उत्खनन भइरहेको जानकारी पाएपछि दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादवका हकमा घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्य नरहेका देखिएकाले उनलाई धरौटीमा तारेखमा रिहा गरेको अदालतले जनाएको छ ।

गएको पुस २५ गते विहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो । हत्याको दुईदिन नबित्दै प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पुस २७ गते राति पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । दिलीपलाई टिपरले किचेर हत्या गर्नु अघि फलामको लिभरले कोँखमा घोचेर गम्भीर घाइते बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो । पछि पुनः २ जना हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।

हत्यामा संलग्न मुख्य योजनाकार मानिएका व्यक्ति पक्राउ न परिसकेको भन्दै मृतकका परिवारले यस अघि नै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको थियो । यता दिलीपलाई नेपालको पहिलो पर्यावरण सहिदको रुपमा राज्यले घोषणा गर्नु पर्ने भन्दै विभिन्न संगठनहरुले लामो दवाव सहितको आन्दोलनको कार्यक्रमहरु घोषणा गरि सकेको छ ।

LIVE TV