२ फाल्गुन २०७६, शुक्रबार
  • घनश्याम मिश्र

धनुषा, २ फागुन । धनुषास्थित महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार एव‌ प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नेकपा(विप्लव)का प्रदेश व्युरो सदस्यलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

धनुषाधाम नपा–६ सरस्वतीपुरका ३४ वर्षीय साहस भनेर चिनिने इन्दल शाहलाई सुरुङ्गा नपा–६ बाट माघ २९ गते पक्राउ गरेको प्रहरीले न्यूज २४ लाई जानकारी दिएको हो ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटेको प्रहरीको टोलीले पक्राउ गरेका शाहलाई फागुन १ गते धनुषा प्रहरीलाई जिम्मा लगाएको धनुषा प्रहरीका प्रवक्ता रामेस्वर कार्कीले बताए ।

ज्यान मार्ने उद्योग, बम विष्फोट, धम्की, चन्दा सङ्कलन, सङ्गठित अपराध लगायतको घटनामा प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका शाहलाई चन्दा सङ्कलनका लागि सप्तरी आएको बेला गिरफ्तार गरिएको हो ।

धनुषाको क्षिरेश्वरनाथ नपा–५ स्थित महेन्द्रनगरमा मङ्सिर २७ गते राति १२ बजे भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय राजेश साह र निजको छोरा १६ वर्षीय आनन्दकुमार शाहको मृत्यु भएको थियो ।

बम विस्फोटमै परेर ७० वर्षीय राजेशका बुवा भिखारी शाह, राजेशका छोरा १९ वर्षीय प्रकाश शाह, राजेशकी छोरी १७ वर्षीया अञ्जली शाह, छिमेकीहरु अकवर मन्सुर, सकिला खातुन, निक्की शाह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।

घटनापछि मुख्य योजनाकार मानिएका विप्लव समुहका केन्द्रीय सदस्य नेता आदम राइनलाई धनुषा प्रहरीले पुस १६ गते गिरफ्तार गरेपछि हाल पक्राउ परेका साह सप्तरीमा लुक्दै आएका थिए ।

LIVE TV