२९ माघ २०७६, बुधबार
  • सविन लामिछाने,

तनहुँ, २९ माघ । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहिन्द्री माविका प्रधानाध्यापकको कुटाईले विद्यार्थी घाइते भएका छन् ।

विद्यालयका प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाईबाट कक्षा ८ मा अध्ययनरत छात्रा निर्जला ढकाल घाइते भएकी हुन् ।

मंगलबार विद्यालयकै समयमा प्रअ काफ्लेले कानमा हान्दा निर्जलाको कानमा असर परेको उनका हजुरबुबा उदयवंश न्यौपानेले जानकारी दिए ।

दिउँसोको खाजा खाने समयमा एक जना साथीसँग विद्यालयको कम्पाउण्ड भन्दा बाहिर गएको भन्दै प्रअ काफ्लेले कक्षामा आएर गालामा हान्दा कानमा परेको र त्यसपछि कानमा असर परेको निर्जलाको भनाइ छ ।

निर्जलाको बुधबार दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा लगिएको हजुरवुवा न्यौपानेले बताए । प्रअ काफ्लेको कुटाईपछि निर्जलाको कानबाट रगत समेत बगेको जानकारी गराइएको छ ।

प्रअ काफ्लेले आफूले सामान्य कुटपिट गरेको भन्दै आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । छात्राको कान दुखेको बारेमा आफूलाई जानकारी गराएपछि आफैले उपचारको लागि लिएर आएको बताए ।

LIVE TV