२९ माघ २०७६, बुधबार
  • रिया भण्डारी

काठमाडौं, २९ माघ । सरकारले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा गाउँमा सिजनल रुघा–खोकीका विरामी मात्रै देखिएको स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यहाँ खटाइएको स्वास्थ्यकर्मीसँगको छलफलपछि कोरानाको लक्षण देखिएको भनिएको उक्त भाइरल सिजनल रुघा–खोकी रहेको जनाएको हो ।

मन्त्रालयले गाउँपालिका चीनको सीमासँग जोडिए पनि आवत–जावत नरहेकाले कोरोना भाइसरको संक्रमण हुन सक्ने भन्दै चलाइएको हल्ला निराधार रहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार बिरामीको उपचार र रोगबारे अध्ययन गर्न जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चाकको टोली गुम्बामै खटिएको छ ।

देशभर नै मौसमी रुघाखोकी र भाइरल ज्वरोको बिरामी बढेकोले कोरोना भाइरसको भ्रम नफैलाउन मन्त्रालयले आग्रह पनि गरेको छ । कोरोना भाइसको संक्रमण हुँदाजस्तै लक्षण देखिएको रोग फैलिएको भन्दै गाउँपालिकाले संघीय र प्रदेश सरकार तथा जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार तीन सय बढी बिरामीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

LIVE TV