२९ माघ २०७६, बुधबार
  • सुदीप पाैडेल

पोखरा, २९ माघ । चलचित्र’लभ डायरीज’ युवायुवतीको प्रेम सम्बन्धमा आधारित चलचित्र रहेको नायक सुशील श्रेष्ठले बताउनुभएको छ ।

चलचित्रको प्रचारप्रसारकै क्रममा पोखरा पुगेका लभ डायरीज टिमले चलचित्रले युवा पुस्ताको प्रेम, विछोड जस्ता कुराहरुलाई उठाइएको बताएको हो ।

बुधबार पोखराको मिडटाउन सिनेमामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै फिल्म नायक श्रेष्ठले ‘लभ डायरीज’ युवायुवतीको प्रेम सम्बन्ध, रोमान्स र विछोडको कथामा आधारित रहेको बताए । साथै उनले यस चलचित्रमा आफुले धेरै मेहनत गरेको समेत जानकारी गराए ।

होस्टेल रिर्टन्स चलचित्रबाट डेब्यु गरेका श्रेष्ठले सायद २, कारखाना, बादशाह जुट लगायतका चलचित्रमा अभिनय गरेका छन् । ‘प्रेम एकअर्कालाई हौसला प्रदान गर्ने माध्यम हो’, उनले भने, ‘आशा छ हामीलाई दर्शकको माया मिल्ने छ ।’ चलचित्रमा उनी एक प्रेमीको भूमिकामा छन् ।

सम्मेलनमा बोल्दै चलचित्रकी डेब्यु नायिका रुबिना थापाले लभ डायरीजबाट आफुले दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताइन् ।

प्रेम दिवसको अवसरमा चलचित्र प्रदर्शन हुने भएकाले प्रेमजोडीलाई चलचित्र हेर्न उनको आग्रह समेत गरेको थियो । चलचित्रमा अश्लिल विषय केही नरहेको र परिवारसहित हेर्न जान सकिने उनले जानकारी गराइन् ।

दुई वर्ष अघि छाँयाकन गरिएको चलचित्र लभ डायरीज प्रदर्शनका लागि तयार भएको हो । फागुन २ बाट अल नेपाल रिलिज हुने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

विनोद साप्कोटाको लगानी रहेको चलचित्रमा सुशिल श्रेष्ठ, रुवीना थापा सहित विश्वजित रिमाल लगायतका कलाकारको अभिनय छ ।

अर्जुन पोखरेलको संगीतमा चलचित्रका गीतमा गायकगायिका सुगम पोखरेल र स्वेच्छा ठकुरीले आवाज दिएका छन् । चलचित्रको गीत र ट्रेलर यसअघिनै रिलिज गरिएको छ ।

LIVE TV