२९ माघ २०७६, बुधबार

काठमाडौं, २९ माघ । ललितानिवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै नेपाल र भट्टराईविरुद्व पनि मुद्दा दायर हुनुपर्ने माग गरेर रिट दायर गर्नुभएको हो ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री रहँदा मन्त्रिपरिषद्को निर्णयका आधारमा सरकारी जग्गा व्यक्तिको नाममा गएपनि अख्तियारले सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन नसक्ने जिकीर गरेको थियो ।

अख्तियारले नीतिगत निर्णय भनेर उन्मुक्ति दिए पनि ललितानिवासको जग्गा व्यक्तिका नाममा पु¥याउन निर्णय गर्ने दुवै मन्त्रीमण्डलमा संलग्न सबैलाई मुद्दा चलाउन आदेश माग्दै न्यौपानेले रिट दायर गर्नुभएको हो ।

यसैबीच, ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको चितवनका जिल्ला न्यायाधीश विनोदकुमार गौतमले आफूलाई कारबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

गौतमका तर्फबाट वारेश मञ्जिल खनालले दायर गर्नुभएको रिटमा न्यायाधीश गौतमले आफूलाई निलम्बन गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशकै रुपमा यथावत रही काम गर्न दिन अन्तरिम आदेश गरिएको छ ।

अख्तियारले गत बुधबार तलिता निवास जग्गा अनियमितता प्रकरणमा तत्कालिन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा न्यायाधीश गौतमलाई पनि विपक्षी बनाइएको थियो ।

LIVE TV