२९ माघ २०७६, बुधबार
  • तारा आचार्य

विराटनगर, २९ माघ । मोरङमा फागुन महिनामा सञ्चालन गरिने दादुरा रुबेला खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय विराटनगरले जनाएको छ ।

मोरङका १७ वटा पालिकाहरुमा दुई चरणमा ९ महिना देखि ५ वर्ष सम्मका करिब ९३ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने तयारी गरिएको छ । सन् २०१९ मा मोरङमा १३ जना बालबालिकालाई दादुरा रुबेला रोगको प्रभाव देखिएको थियो ।

नेपाललाई सन् २०१९ मा नै दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखिएपनि खोप लगाउनेको संख्या कम भएको र रोगको प्रभाव देखिएकोले सन् २०२३ सम्म दादुरा रुबेला रोग निवारण गरी सक्ने नयाँ लक्ष्य तोकिएको छ ।

दादुरा रुबेला खोप अभियान बारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठन आईपिडीकी डा. सरु देवकोटाले नियमित खोप लगाउने र खोप अभियानमा ९५ प्रतिशत बालबालिकाहरुले खोप लगाएमा खोपको प्रभावकारिता देखिने बताउनु भयो ।

दादुरा रुबेला खोप अभियान कै क्रममा पोलियो थोपा पनि खुवाउने तयारी गरिएको छ । मोरङमा करिब १ लाख १० हजार जन्मे देखि ५ वर्षका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने तयारी गरिएको स्वास्थ्य कार्यालय विराटनगरले जानकारी दिएको छ । सो कार्यक्रममा खोप अभियानलाई सफल बनाउन सरोकारवालाहरु बीच छलफल गरिएको थियो ।

LIVE TV