२९ माघ २०७६, बुधबार
  • जनक शाही

हुम्ला, २९ माघ । सरकारले तुइन मुक्त देश बनाउने घोषणा गरेको दुई वर्ष भइसक्यो तर हुम्ला संगै कर्णालीका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउपालिकाका जनप्रतिनिधिहरु दैनिक पालिका केन्द्रमा आउन जान ज्यानको बाजी मारेर तुइनकै भरमा वहरदोहर गरिरहेका छन् ।

जनप्रतिनिधि मात्र नभई स्थानियबासीले पनि खेतबारीको काम संगै घाँस, दाउरा पनि तुईनबाटै गर्नुपरेको गुनासो गर्छन् खार्पुनाथ गा.पा. ३ की महिला सदस्य धना शाही । उनी भन्छिन्-‘४, ५ बर्ष देखि मुस्याडि, बाक्चेगौडा र याङचु कुनामा पुल बनाउने भनिएपनि बर्षेनि सर्भे हुन्छ तर अहिलेसम्म पुल बनेको छैन।’ पुल नभएकै कारण ५ वटा वडा भएको खार्पुनाथ गाउपालिकाका २,३ र ४ वडाका जनता अध्यक्ष र उपाध्यक्षलाई पालिकाको केन्द्रमा जान तुईनको भर पर्नुपरेको सदस्य शाहीले बताईन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि कर्णाली नदि वारपार गर्न तुईन बाहेक अन्य कुनै विकल्प छैन । नदी तर्न तुइनकै भर पर्नुपर्छ । त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर ।
सय रुपैयाँ तिरेर तुइनबाट वारिपारि गर्नेहरूले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ । ‘पुरानो र धराप छ, तुइन, कुन दिन के हुने हो’ गुनासो पोख्छन् स्थानीय ।

खार्पुनाथका अधिकांश वडाका बासिन्दा गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारङ्गलगायत गाउँका बासिन्दा पालिका केन्द्र याङ्चु पुग्छन् ।

खार्पुनाथ ४ का वडाअध्यक्ष लोकजंग हमालले तुइन हटाएर झोलुंगे पुल हाल्ने संघीय सरकारको निर्णय कार्यान्वयन नहुँदा हिउँदमा नदीको पानी घटेपनि तर्न नसकिने भएकाले घुमाउरो बाटो हिँड्ने दुःखले पैसा तिरेरै तुइन चढिरहेका छौं । अध्यक्ष हमालका अनुसार बोक्चेगौडा र याङ्गचु कुनामा मात्रै दैनिक ६०,७० जना भन्दा बढी बटुवाले तुइनबाट वारपार गर्छन् । तुइन तर्दा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य मानिने उनले बताए ।

‘पुल बनाउन पटकपटक तीनवटै तहका सरकारको ध्यानाकर्षण गराइएको हो, उनले भने, ‘पुल बने सबैले वर्षौंदेखिको सास्तीबाट मुक्ति पाउँथ्यौं ।’ तुइनले स्थानीयको आर्थिक व्ययभार बढ्नुका साथै ज्यान जोखिममा परिरहेको उनले बताए ।

कर्णाली करिडोरअन्तर्गतको खार्पु–सुनखाडा खण्डको बोक्चेगौडामा सडक निर्माणका क्रममा आवागमन अवरुद्ध भएपछि यति बेला प्रायः बटुवा तुइन तर्ने गरेको तर पैसा उठाइएको कुरा आफुलाई थाहा नभएको बताउँछन् खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावल । तुईन भएकै स्थानमा पुल निर्माणका लागि संघीय सरकारमार्फत भर्खरै टेन्डर आह्वान गरेको यदि सो कार्यान्यन भएमा तुइन हट्ने रावलले बताए ।

LIVE TV