२९ माघ २०७६, बुधबार

काठमाडाैं, २९ माघ । नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान रचेको छ । आईसीसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै विश्व कीर्तिमान रचेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै ३५ रनमा मात्रै जोड्न सफल भयो । यो ओडीआईको सर्वाधिक थोरै रन हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो ।

अमेरिकालाई सस्तैमा समेट्नका लागि लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिए । उनले ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिए । यो सँगै नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका छन् ।

सुशन भारीले ३ ओभरमा ५ रन खर्चिदै ४ विकेट लिए । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् । अमेरिकाका चार ब्याट्सम्यानले रनको खातासमेत खोल्न सकेनन् ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो ।  अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमरले भने चारवटै खेल जितेको छ । नेपाल ओमनसँग दुवै खेलमा पराजित भएको थियो ।

LIVE TV