२८ माघ २०७६, मंगलवार
  • शिव डुम्रे,

बुटवल, २८ माघ । चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा कस्तो होला ? भन्ने जिज्ञासा व्यापक छ ।

अझ चीनबाट केही दिनमा विद्यार्थी फिर्ता ल्याउने सरकारी निर्णयले थप चर्चामा रहेको कोरोनाको प्रत्यक्ष असर नेपालको राष्ट्रिय गौरबका आयोजनाहरुमा पनि पर्ने भएको छ ।

विशेषगरी चिनियाँ ठेकेदार कम्पनीले जिम्मा लिएका कतिपय आयोजनाहरुमा चिनियाँ जनशक्तिहरु नआउने र आएकाहरु पनि फिर्ता जान थालेपछि प्रत्यक्ष असर पर्ने देखिएको हो ।

रुपन्देहीको भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थललाई पनि परेको छ । कोरोनाकै कारण अहिले जुन गतिमा विमानस्थल निर्माण हुनुपर्ने हो, त्यो गति लिन नसकेको बिमानस्थल निर्माण परियोजनाले जनाएको छ ।

निर्माणका लागि आवश्यक प्राविधिक जनशक्ति चीनबाट आउन नसक्दा विमानस्थलमा उपकरण जडानको काम प्रभावित भएको छ । विमानस्थलमा जडानका लागि उपकरणहरु आइसक्दा पनि सम्बन्धित कामका दक्ष जनशक्ति आउन ढिलाई हुँदा निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलको काममा प्रभावित हुन थालेको हो ।

कोरोना भाइरसको प्रभाव यस्तै रहने हो भने थप गरिएको म्यादभित्र सम्पन्न गर्न कठिनाई हुनसक्ने आयोजनाको भनाइ छ । केही समय अगाडि ३१ मार्च २०२० सम्ममा काम सक्ने गरी चौथोपटक म्याद थप गरिएको थियो ।

आईसीबी–२ अन्तर्गतका करीब ९५ प्रतिशत उपकरण तथा आईसीबी–१ अन्तर्गतको ८५ प्रतिशत बढी सामग्री आइसकेको छ । दक्ष प्राविधिक जनशक्तिकै अभावमा सो उपकरणहरु जडानमा चुनौती थपिएको छ ।

उपकरण जोड्ने दक्ष कामदार झन्डै ४० जना चिनियाँ अहिले काममा फर्किएका छैनन् । जनशक्तिसँगै चीनबाट आउनुपर्ने केही उपकरणहरु पनि आउन सकेको छैन ।

निर्माण आयोजना ईकाईका प्रमुख प्रवेश अधिकारीका अनुसार चीनबाट हवाई उडान नहुदा रनवेमा प्रयोग हुने बत्ती तथा ब्यागेह ह्याण्डिलिङ सिस्टम लगाएतका सामग्री आएका छैनन् ।

उनले भने, ‘विमानस्थलको काम तीब्र गतिमा अगाडि बढेको छ । अब ४ प्रतिशत मात्रै काम बाँकी रहेको छ । समयमै सकिने काम कोरोना भाइरसकै कारण प्रभावित भएको छ ।’

त्यस्तै रुपन्देहीमा सुरु गरिएको अर्को राष्ट्रिय परियोजना बुटवल–नारायणगढ सडक स्तरोन्नती तथा निर्माण परियोजना पनि कोरोनाकै कारण प्रभावित हुन थालेको छ ।

यो परियोजनामा पनि ३० जना चिनियाँ कामदार हुनुपर्नेमा जम्मा १५ जना मात्रै फिल्डमा छन् ।

LIVE TV