
- राम गोपाल तमखु,
भक्तपुर, २८ माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले एमसीसीको खुलेर विरोध गर्नुका साथै जनतालाई पनि सजग बनाउँदै आएको बताउनुभएको छ ।
मंगलबार भक्तपुर नगरपालिकाको छौंठौं नगरसभालाई उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले यस्तो बताउनुभएको हो ।
त्यस्तै उहाँले चीनमा फैलिरहेको कोरोना भाइरसप्रति चिनिया सरकार र चिनियाँ जनताले भाइरसविरुद्ध साहसी पूर्वक लडिरहेको बताउनुभयो ।
उहाँले संसारका अनेक घट्नाक्रम तथा युद्धहरुमा अमेरिकी साम्राज्यवादको षड्यन्त्र दृश्य÷अदृश्य रुपमा रहने गरेको प्रष्ट पार्नुभयो ।
नेपालमा चिनियाँ नागरिकको व्यवस्थापनका लागि सरकारले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरी राम्रो भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको ६ महिनाको प्रगति समीक्षा प्रस्तुत गर्दै नगरपालिकाको मौलिक पहिचानलाई कहीँ कतैबाट हस्तक्षेप वा अतिक्रमण नहोस् भनेर नगरपालिकाका जनप्रतिनिधिहरु सचेत रहेको बताउनुभयो ।
उहाँले नेपालमा फैलिएको डेंगु रोग र हाल चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल भित्रिने पर्यटकहरुको संख्यामा कमी आएको औंल्याउनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाले शिशु स्याहरदेखि कलेजसम्म आफ्नै स्रोत साधनले शैक्षिक संस्थाहरु सञ्चालन गर्ने नेपालकै पहिलो नगरपालिका भएको बताउनुभयो ।