२८ माघ २०७६, मंगलवार
  • दानबहादुर बुढा

मुगु, २८ माघ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको लौडीसीमा निर्माणधिन ३५ केभी हिमा लघुजलविद्युत आयोजना ५ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण गर्ने कम्पनी क्याप्टा बीचमै काम छोडेर भागेपछि आयोजना अलपत्र भएको छ ।

विद्युत निकाल्ने भनेर जिल्ला भित्रिएको क्याप्टा कम्पनीले उल्टै पैसा लिएर बाहिरिएपछि हिमा जलविद्युत आयोजना अगाडि बढ्न सकेको छैन । ५ सय घरधुरीलाई लक्षित गरी काम सुरु भएको आयोजना बीचमा रोकिएपछि स्थानीय निराश भएका छन् । त्यसमाथि पनि आयोजनामा काम गरेको ज्याला समेत नपाएको स्थानीयकोे गुनासो छ ।

साविक गाविस र अहिलेको स्थानीय तहको १ करोड ३५ लाख रकम खर्च भइसक्दा पनि काम भने १० प्रतिशत मात्र सकिएको छ । बिजुली बल्ने भएपछि स्थानीयले प्रत्यक घरधुरीबाट २ हजार रुपैयाँ दिएको भएपनि आयोजनाका अगुवाले रकममा अनियमितता गरेको स्थानीयको आरोप छ ।

आयोजना निर्माणको जिम्मा पाएको क्याप्टा कम्पनीलाई विना सम्झौता काम गर्न दिएको खुल्न आएको छ । तर, ५ वर्षदेखि हुन नसकेको काम भने छिटै सुरु भएर अन्तिम रुप लिनेमा गाउँपालिका भने विश्वस्त छ । बिजुली बाल्नको लागि ल्याएका बिद्युतका तार,पोल गाउँमा लथलिंग अवस्थामा छोडिएको छ ।

LIVE TV