२८ माघ २०७६, मंगलवार

काठमाडौं, २८ माघ । ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई ३-० ले हराएको हो ।

आर्मीका लागि खेलको पाँचौं मिनेटमा कप्तान भरत खवासले पहिलो गोल गरेका थिए । योसँगै भरतले ए डिभिजन लिगमा आफ्नो गोल संख्या ५० पुर्याएका छन् ।

त्यस्तै खेलको ५४औं मिनेटमा विकास तामाङ र ७०औं मिनेटमा टेकबहादुर बुढाथोकीले आर्मीका लागि गोल गरेका थिए । आर्मी १२ खेलबाट २९ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै, मंगलबार नै भएको दोश्रो खेलमा मनाङ मस्र्याङदी लिगको तेस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा सिमित विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन विमल राना र अन्जन बिष्टले एक एक गोल गरे । यस्तै, अर्को खेलमा थ्रीस्टारले एनआरटीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

LIVE TV