२८ माघ २०७६, मंगलवार

काठमाडौं, २८ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा ओमानले शतप्रतिशत नतिजा निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार अमेरिकालाई ९२ रनले हराउँदै ओमान ४ खेलमा ४ जित निकाल्दै सिरिजमा अपराजित रहेको हो ।

चौंथो खेल जितेसँगै ओमानले त्रिकोणात्मक सिरिजमा समेत कब्जा जमाएको छ । ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।

अमेरिकाका लागि निसर्ग पटेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

ओमानको उच्च योगफलमा कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले ।

मध्यम सुरुवात गरेको ओमानका लागि दुवैले तेस्रो विकेटका लागि २ सय १६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

अमेरिकाका सौरभ नेत्राभाल्कर र रुस्टी थेरनले ३/३ विकेट लिए । जितसँगै लिगको शीर्ष स्थानमा रहेको ओमानले १० खेलमा १६ अंक जोडेको छ ।

अमेरिका ११ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । यस सिरिजमा अमेरिका जितविहीन छ । सिरिजको अन्तिम खेलमा अमेरिकाले बुधबार नेपालसँग खेल्नेछ ।

LIVE TV