२८ माघ २०७६, मंगलवार
  • राजन परियार,

काठमाडौं, २८ माघ । वीपी राजमार्ग राजधानी काठमाडौं आवतजावत गर्न अति छोटो र सहज राजमार्ग हो । सिन्धुलीमाढीबाट अगाडि बढ्दै जाँदा नागबेली सडकको मनोरम दृष्यसँगै गोलञ्जोर गाउँपालिकाको खनियाखर्क आइपुगिन्छ ।

खनियाखर्कमा गाडी नरोकी अगाडि बढ्न मनै लाग्दैन, कारण हो यात्रुहरुको रोजाईमा परेको सिन्धुलीको रसिलो जुनार ।

जुनार कृषक र व्यापारी गरी झण्डै दुई दर्जन बढी जुनारका स्टलहरु छन्, जहाँ पहेलो जुनार देखपछि राजमार्ग हुँदै तराई तथा पूर्वी जिल्ला आवतजावत गर्ने यात्रुहरु कोसेलीको रुपमा यहाँको स्वादिलो जुनार लैजाने गरेका छन् ।

जुनार बजारको रुपमा पहिचान बनाउदै आएको जिल्लाको खनियाखर्कमा पहेँलपुर भएर पाकेको जुनार स्वाद थाहा पाएकादेखि स्वाद चाख्नेहरुको समेत रोजाई बन्दै गएको छ ।

जसको कारण यहाँको जुनार खरीद गर्न मोटरसाइकलदेखि ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको चाप बढ्दै गएको छ ।

राजमार्गमा सवार अधिकांश यात्रुहरु जिल्लाको जुनार निकै रसिलो हुने भएपछि आफन्त कहाँ जाँदा कोसेलीको रुपमा जुनार लैजाने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना (जुनार सुपरजोन) सञ्चालन भएपछि जुनारको अत्याधिक उत्पादन हुन थालेपछि खनियाखर्क बजारमा जुनारलाई प्राथमिकमा राखेर बिक्री गर्ने गरिएको हो ।

जुनार सुपरजोन परियोजनाले जुनारमा देखापरेकोे रोगकिराको संक्रमण नियन्त्रण गरेपछि स्वादिलो जुनार खरिदका लागि यात्रुहरुको प्रमुख रोजाई बनेको जुनार कृषक निर्मलकुमार रम्तेलले बताए ।

जुनार कृषकहरु आफैले जुनार विक्रीका लागि राख्ने गरेको जुनार कृषक रम्तेको भनाइ छ । उनले भने, ‘विपी राजमार्गमा यात्र गर्नेहरुनै जुनारका मुख्य ग्राहकका छन् । यात्रुहरुका आफन्तका लागि जुनार मुख्य कोसेली जस्तै बनेको छ ।’

प्रतिकिलो ९० देखि १ सय ३० रुपैयाँसम्ममा विक्री हुने जुनार यस बर्ष ८ हजार ८ सय ८१ मेट्रिकटन जुनार उत्पादन भएको छ ।

जुनार विक्रीबाट कृषकहरुले जिल्लामा यस वर्ष मात्र १२ करोड रुपैयाँ आम्दानी गरिसकेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना (जुनार सुपरजोन)का प्रमुख देवराज अधिकारीले बताए ।

‘जिल्लामा उत्पादन भएको जुनारले सहजरुपमा बजार पाउनुको मुख्य कारण भनेकै जुनारमा लाग्ने किराको नियन्त्रण हो । १ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा जुनार खेति गरिँदै आएको सिन्धुली जुनार उत्पादनका दृष्टिले प्रमुख मानिएको छ ।

महाभारत क्षेत्रका ५ हजारबढी कृषकको मुख्य आम्दानीको श्रोत भनेको जुनार रहेको छ’ अधिकारीले भने ।

LIVE TV