२८ माघ २०७६, मंगलवार

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध हटाएपछि प्रतिनिधिसभाको बैठक आज मंगलबारदेखि सञ्चालनमा आएको छ ।

पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग–पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो ।

मंगलबार प्रतिनिधि सभाको बैठकको सुरुवातमै बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसको संसदीय दलको उपनेता तथा नेपाली कांग्रेसको उपसभापति विजय कुमार गच्छेदारमाथि राजनीतिक प्रतिसोधको आधारमा भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताउनुभएको छ ।

नेतृ भुसालले अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्तो गल्ती नदोहोरियोस् भन्नका लागि संसद अवरुद्ध गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यस समय प्रमुख प्रतिपक्षी दलको विरोध थियो, नेपालको संविधानले परिल्पना गरेको निष्पक्ष ढंगबाट आफ्नो अधिकार क्षेत्रभित्र रहेर आफ्नो कामहरु गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल सरकारबाट प्रभावित भई जुन किसिमबाट मुद्दा दायर गरेको थियो, त्यसमा पूर्ण रुपमा राजनीतिक प्रतिसोध भएको कुरा आरोप–पत्र पढ्दा खेरी स्पष्ट भएको थियो ।

त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध स्वरुप सदनलाई बन्द गराएको थियो ।’

उहाँले फेरि भन्नुभयो, ‘अख्तियारले राजनीतिक पूर्वाग्रह साँधेर आरोप–पत्र दायर गरेको पुष्टी स्वयं नेपाल सरकारले ग-यो । किनभने त्यही दौरानमा नेपाल सरकारका प्रवक्ता सूचनामन्त्रीले भन्नुभयो, ‘यो सरकारको ठूलो उपलब्धि हो । सरकारको काम हो ।

यदि सरकारको यो उपलब्धि हो भने संविधानमा यस्तो संबैधानिक अंगको परिकल्पना किन गरियो ? सरकारले संविधानको पालना गर्नुपर्छ । संविधानभित्र रहेर यस्ता संबैधानिक अंगको विषयमा, संबैधानिक अंगले गरेको काम/कारबाहीको विषयमा सरकारले आफ्नो विषय वस्तु बनाउँदै गर्दाखेरी यसबाट पुष्टि भयो, कि सरकारबाट प्रभावित भएर अख्तियारले प्रतिसोधको आधारमा पूर्वग्राही भएर यो मुद्दा दायर गरेको कुरा कुनै पनि जनताबाट लुकेको/छिपेको छैन ।’

नेतृ भुसालले जनताको ऐनाको रुपमा रहेको उक्त संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको जनाउनुभएको छ । सरकारले यस्तो अभिव्यक्ति किन दिएको हो ? भनेर पनि सदनले जानकारी माग्नुपर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘नेपाली कांग्रेस, जो लोकतन्त्रिक मूल्य र मान्यातालाई अत्यन्तै सम्मानका साथ अगाडि बढाउन चाहन्छ । कांग्रेस जो संसदीय व्यवस्थाप्रति विश्वास गर्छ । कांग्रेसलाई राम्ररी थाहा छ, यो मुद्दा अदालतमा प्रवेश गरिसकेको छ ।

त्यसैले हामी नेपाली कांग्रेसको कार्यकर्ता लोकतान्त्रिक पद्धती, न्यायपालिको निष्पक्षतामाथि विश्वास गर्ने पार्टी पनि हो भन्ने कुरा आज स्मरण गराउन जरुरी छ ।’

नेतृ भुसालले फेरि भन्नुभयो, ‘यो मुलुकको संबैधानिक अंगले यदि त्यस्ता किसिमको प्रतिसोध साँधेर जनताको अधिकार विपरित, संबैधानिक अंगको विपरित, सरकारको प्रभावमा आएर त्यस्ता किसिमको निर्णयहरु गरेको कुरा प्रमुख प्रतिपक्षी दलले नजिकबाट नियालेर बसेका छ ।’

त्यस्तै उहाँले अख्तियार लगाएत संबैधानिक अंगहरु सरकारको प्रभावमा परेर कुनै पनि गलत काम र निर्णयहरु गर्न नहुने तथा सरकारको छायाँ बन्न नहुने बताउनुभयो । तर, यदि त्यस्तो भएमा लोकतान्त्रिक अभ्यास फेरि कम्जोर बन्दै जाने र जनताको अधिकार सुनिश्चित नहुने उहाँको भनाइ छ ।

LIVE TV