२८ माघ २०७६, मंगलवार

काठमाडौं, २८ माघ । आमाको गरिमा यो संसारभरि नै ज्यादै विशाल एवं विस्तृत छ । आमाको महत्व र महता त्यति नै उच्च छ । वास्तवमा भन्ने हो भने आमाको ममत्वको उचाई सगरमाथा भन्दा उच्च छ । पृथ्वीभन्दा महान र विशाल छिन्, आमा ।

आमालाई ईश्वरको सबभन्दा उत्कृष्ठ रचना मानिन्छ । धैर्यता र प्रेमकी प्रतिमूर्ति हुन् आमा । सहनशीलताकी पनि खानी हुन् । आमाको महिमा जति गाए पनि कम हुन्छ नै सबैलाई ।

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालकी आमा दिव्यलोकाको जीवन यात्रा

दिव्यलोका खनाल, अर्थात् नेपाल प्रहरीका महानिरीक्षक अर्थात् आईजीपी सर्वेन्द्र खनालकी ममतामयी आमा । करीब ९६ वर्षको उमेरमा पाइला चालिरहेकी दिव्यलोका सानैदेखि सहनशील थिइन् ।

डेढवर्षको हुँदा आमा गुमाएकी दिव्यलोकालाई आमाको ममताको विषयमा भने त्यति ज्ञान छैन ।

तनहुँको सिमपानीमा जन्मिएकी दिव्यलोकाको बाल्यकाल राम्रै थियो । ९ वर्षको उमेरमा केदारनाथ खनालसँग वैवाहिक बन्धनमा बाधिएकी थिइन् उनी । आमाको ममता, हुर्कन नपाएकी उनलाई बाल्यकाल बुबासँग बिताएकी थिइन् ।

सानै उमेरमा आमा गुमाएको भएर होला उनको बाल्यकाल मातृत्वको ममताको माधुर्यबाट भने टाढा रह्यो ।

९ वर्षको उमेरमा साहिँली बुहारीको रुपमा छोरीबाट बुहारी भएर घर भित्रिएकी उनको वैवाहिक जीवन भने सुखमय रह्यो । जागिरे जीवन विताइरहेका केदारनाथसँग विवाह गरेपछि दुःखको संघार तर्नु परेन ।

१० सन्तानको आमा रहेकी उनले १७ वर्षको उमेरमा आमा बन्ने सौभाग्य पाएकी थिइन् ।
१० सन्तान हुर्काउँदाको समय केही कठिन भएपनि उनी आफ्नो जीवनको सुख दुःखलाई सहज रुपमा लिन्छिन् । समाजसेवाको भावले भरिएकी दिव्यालोकालाई असहज परिस्थितिमा भने घुल्नु परेन ।

हुनत हरेक आमाको लागि आफ्ना सन्तान राम्रो नै लाग्छ त्यस्तै लाग्छ दिव्यालोकालाई पनि आफ्ना सबै १० नै । त्यसमध्येका उत्कृष्ठ सन्तान लाग्छन् दिव्यालाई छोरा सर्वेन्द्र खनाल ।

सर्वेन्द्र देशलाई नै ‘लिड’ गर्ने व्यक्ति बन्छ भन्ने विश्वास थियो : आमा दिव्यालोका खनाल

बाल्यकालदेखि नै दूधभात मनपराउने सर्वेन्द्र आज्ञाकारी सन्तान थिए । ज्ञानी र पढाईमा समेत सँधै सफल रहने सर्वेन्द्र देशलाई लिड गर्ने व्यक्ति बन्छन् भन्ने विश्वास आमा दिव्यालोकालाई लागिरहन्थ्यो ।

दूध भात मनपराउने भएर होला सर्वेन्द्रको चरित्र पनि सधै बेदाग नै रह्यो । कार्य सम्पादनमा समेत सधै सफल र कहिले दाग नलगाएका सर्वेन्द्र सबैका प्यारा थिए ।

सर्वेन्द्रलाई तनहुँ जिल्लामा जन्म दिएको भएपनि सन्तानको उच्च शिक्षाका लागि काठमाडौँस्थित पकनाजोलमा सरेका थिए खनाल दम्पत्ति । पकनाजोलको बसाई, सरकारी जागिरे श्रीमान् अनि १० जना सन्तान सबैलाई असल व्यवहारमा सक्षम बनाउन सफल थिइन् दिव्या ।

गाँउबाट आएका र पाटीमा बसेका व्यक्तिलाई समेत आफ्नै घरमा राखेर सेवा भावमा खट्थीन् दिव्या ।

छोरालाई सुख दिएर नभई खुशी दिएर हुर्काएकी थिइन् दिव्याले । छोराले राम्रो गर्न सकोस् भन्ने हर क्षण सोच्ने दिव्याको त्यो सपना पूरा भयो नै ।

जीवनलाई सुख दुःखको मेल र जुनसुकै परिस्थितिमा पनि लड्न तयार रहनुपर्छ भन्ने सोच्ने दिव्या, आफ्ना सन्तानको सफलतामा प्रफुल्ल छिन् । विशेष प्रफुल्ल त सर्वेन्द्रको सफलतामा छिन् । जसले नेपाल प्रहरीको नै नेतृत्व गरेका छन् ।

संसारको सबैभन्दा उत्कृष्ट रचना हुन आमा : सर्वेन्द्र खनाल

सर्वेन्द्रको नजरमा सब थोक हुन् आमा । आमालाई परिभाषित गर्न नसकिने बताउने सर्वेन्द्र आमालाई संसारको उत्कृष्ट रचना मान्छन् ।

वि.स २०२३ वैशाख तनहुँको तनहुँसुरमा जन्मिएका थिए, सर्वेन्द्र । जागिरे बुबा केदारनाथ खनालसँगै काठमाडौंको पकनाजोलमा खनाल परिवार बसाई सरेपछि सर्वेन्द्रको बाल्यकाल काठमाडौंमा नै वित्यो ।

लैनचौरस्थित शान्ति विद्यागृहमा प्रवेशिकासम्मको अध्ययन गरेका उनी अमृत साइन्स क्याम्पस अस्कलबाट क्याम्पस जीवन पूरा गरेका थिए । २०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गरेका गरेका थिए सर्वेन्द्रले ।

स्मार्टनेश देखेर प्रहरीतर्फ आकर्षित भए : आइजीपी खनाल

प्रहरी सेवामा समर्पित बन्न उनले खासै मानसिकता भने बनाएका थिएनन् । पहिला त प्रहरीको स्मार्टनेश देखेर प्रहरीतर्फ आकर्षित भएका थिए सर्वेन्द्र ।

संगठनभित्र मात्रै नभएर समाजमा पनि आइजीपी खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिने गर्छन् । उनी अरुमा पनि निर्भर नरहने व्यक्तिको रुपमा चिनिदै आएका छन् ।

प्रहरीको जीवनबाट आफुलाई सन्तुष्टि मिलेको बताउने सर्वेन्द्र आफू आफ्नो पेशामा सफल हुनुमा आफ्नो मात्र नभएर सिंगो परिवारको हात रहेको बताउछन् ।

आमाको लगनशीलतको कारण पनि आफू सफल भएको बताउने सर्वेन्द्र आफ्नो आमाको हातले बनाएको खाना हरेक ठाँउमा पुग्दा सम्झन्छन् । आमा दिव्यलोकाको सरल, निष्कपट, संस्कृति प्रेमी व्यवहारले उनलाई सदैव थिचिरहन्छ ।

प्रहरीको जागिर पेशा मात्र नभएर सेवा पनि हो । आफैमा चुनौतीपूर्ण यो क्षेत्रमा सर्वेन्द्रको यात्रा पनि चुनौतीपूर्ण रह्यो ।

नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने चाहना सबैको हुन्छ नै । तर सबैको यो भाग्य पनि कहाँ हुन्छ र ? प्रहरीको पोशाक र जिम्मेवारीका सम्मान गरेकै कारण सर्वेन्द आज यो पदमा छन् । नेपाल प्रहरीको छवि उच्च राख्न उनले गरेका प्रयासहरुको लेखाजोखा हुने छ नै ।

LIVE TV