२८ माघ २०७६, मंगलवार

२८ माघ, काठमाडौं । संसद सञ्चालनमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरोध नगर्ने निर्णय गरेको छ ।

कांग्रेसले मंगलबार बस्‍ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको हो। ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई मुद्दा चलाइएपछि कांग्रेसले बैठक अवरोध गर्दै आएको थियो । तर, सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा कांग्रेसका अधिकांश नेताहरुले भने गच्छदारको मुद्दा उनी आफैँले लड्नुपर्ने धारणा राखेका थिए ।

विशेष अदालतमा पुगेको यो मुद्दा गच्छदार आफैंले लड्नुपर्ने नेताहरुको धारणापछि कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको थियो। सिंहदरवारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

LIVE TV