२७ माघ २०७६, सोमबार
  • घनश्याम मिश्र

धनुषा, २७ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान सभाबाट बनेको नेपालको संविधानमा त्रुटि नै त्रुटि रहेको बताउँदै संशाेधन हुनुपर्ने धारणा राखेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा नेता यादवले संविधान जबर्जस्ती घोषणा गरिएको भन्दै यो संविधान कालान्तरमा पद्म शमशेरले घोषणा गरेको संविधानजस्तै हुनथालेको बताएका हुन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघको आयोजनामा जनकपुरमा आयोजन गरिएको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक राष्ट्रिय कार्यशालामा सम्बोधन गर्दै पूर्व उप-प्रधान तथा कानूनमन्त्री समेत रहेका यादवले अन्य मुलुकहरुको उदहारण दिँदै यो संविधानमा आमसहमति नै नरहेको बताए । संविधानमा सबैभन्दा बढ़ी खतरानाक संरचनागत विषय नै रहेको बताउँदै यादवले भने, ‘प्रशासनकाे दबदबा कायम राख्न नै अहिलेको यो संरचना निर्माण गरिएको हो ।’ यतिबेला निर्माण गरिएको प्रदेशका संरचनाहरु समेत त्रुटिपूर्ण रहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उनले अमेरिकामा प्रत्येक प्रान्तको आफ्नै संविधान रहेको जिकिर गर्दै अन्य मुलुकमा झण्डा पनि तीन-तीन ओटा रहेको दाबी गरे । इथियाेपियामा पनि जातीयताको आधारमा संघीयता रहेको यादवले तर्क गरे । उनले भने, ‘संघीयतामा नेपाल एक मात्र देश यस्तो छ, जहाँ केन्द्रमा मात्र पावर रहेको छ तर प्रदेशलाई कुनै अधिकार दिन सकेको छैन ।’

जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने जिकिर गर्दै उनले अहिले नेपालमा त्यस्तो नदेखिएकोले गर्दा पनि आन्दोलनकाे विकल्प नरहेको बताए ।

यसैगरी समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन समयमा उपेन्द्र यादवसँग संविधान संशोधन गर्ने हस्ताक्षर गर्दा के भाङ खाएर गरेका थिए भन्दै राेश प्रकट गरे ।

संघीय सासनको नाममा यहां केन्द्रीकृत सासन पद्धति सुरु भएको मात्र नभएर लादिएको श्रेष्ठकाे तर्क थियाे । उनले भने, ‘नेकपाको सहयोगविना संविधान संशोधन हुन नसक्ने भएकै कारण हाम्रो पार्टी सरकारमा बसेर पनि नेकपाको इच्छा नहुँदा यो संविधान संशोधन हुन पाएन ।’

नेपाल बौद्धिक पेशाकर्मी महासंघको आयोजनामा जनकपुरमा आयोजन गरिएको साे कार्यशालामा बोल्दै टिप्णीकर प्राध्यापक भोगेन्द्र झाले सत्तामा रहेको हालका पार्टी र व्यक्तिहरुको कारण नै संविधान संशोधन हुन नसकेको बताए ।

कार्यशालामा समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए । नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । झाले टिप्पणी गर्दै संविधान संशोधनमा अहिले नागरिकता, पहिचानको प्रावधान, राज्य संरचना , समानुपतिक सहभागिताको प्रावधान लगायत विषयमा संविधान संशोधन गर्नुपर्ने बताए ।

कार्यशालामा प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउत, समाजवादी पार्टीका महिला नेतृ रेणु यादव, पूर्व स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र यादवलगायत समाजवादी पार्टीका केन्द्रीय नेतादेखि प्रदेश र जिल्लास्तरीय नेतासम्मको उपस्थिति रहेको थियो ।

LIVE TV