२७ माघ २०७६, सोमबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २७ माघ । कपिलवस्तु नगरपालिकाले सोमबार छैठौं नगरसभा सम्पन्न गरेको छ । साे नगरसभामा कपिलवस्तु नगरपालिकाको शिक्षा ऐन २०७६ सर्वसम्मत ढंगले पारित भएको छ ।

सामाजिक विकास समितिका संयोजक प्रकाश गैरेले उक्त ऐन पेश गरेका थिए । संविधानले माध्यमिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही कानुनी अधिकारलाई टेकेर नगरपालिकाले शिक्षा ऐन बनाएको हो । केन्द्रीय शिक्षा ऐन र नेपालको संविधानसँग नबाझिने गरी नयाँ शिक्षा ऐन बनाएर पारित गरेको गैरेले बताए ।

साे अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आर्चायले नगरपालिकाले हाल सम्म सम्पादन गरेका कार्यहरुको बारेमा सभामा जानकारी दिएका थिए । खुल्ला दिसामुक्त नगर घोषणा, बालमैत्री वडा घोषणा, ४ वटा वडा कार्यालय र नगरको कार्यालयमा तला निर्माण कार्यमा तिब्रता, बैक मार्फत सामाजिक सुरुक्षा, फुसको घर विस्थापित योजना, सडक निर्माण लगायतका बारेमा प्रगति प्रतिवेदन पेश गरेका थिए ।

सभामा नगर सभा सदस्यहरुको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख किरण सिंहले शिक्षा ऐन अनिवार्य रहेको भएकोले सबैको राय, सुझाव र सल्लाह बमोजिम ल्याएको प्रष्ट पारे । साथै नगरपालिकाको संशाेधित आय-व्याय सल्लाह-सुझावसहित र परिमार्जनसहित नगर प्रमुख किरण सिंहले पारित गराए ।

संशाेधन सहित कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्षको बजेट रु ९५ करोड ७३ लाख ७६ हजार ८ सय ३८ सभाबाट पारित गरिएको छ । स्थानीय जनताका आवश्यकतालाई मध्यनजर गर्दै योजनाहरुमा थपघट पनि गरिएको सिंहले बताए ।

प्रत्येक आर्थिक वर्षमा स्थानीय तहले बर्खे र हिउँदे सभा गर्नुपर्ने कानुनी प्रावधान छ । बर्खे सभामा नयाँ आवको साथै हिउँदे सभामा बर्खे सभाले ल्याएका कार्यक्रम तथा बजेटलाई सामान्य हेरविचार गर्ने चलन छ । नगरपालिकाले विभिन्न स्थानीय सरकारका योजना तथा संघीय सरकारका समपुर योजनामा संशाेधन समेत गरेको छ ।

LIVE TV