२७ माघ २०७६, सोमबार

नुवाकोट, २७ माघ । भारत सरकारकाे सहयाेगमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । सो भवनको आज पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थिति थियाे भने भारतीय राजदूतावासको पुनर्निर्माण प्रभागका प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गर्नुभयो ।

नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । हाल यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित साे नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन् । यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको हो । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

LIVE TV