२७ माघ २०७६, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, २६ माघ । प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुर उपमहानगरपालिकाको आर्थिक कारोबार करिब ३ महिनादेखि अस्तव्यस्त रहेको छ ।

जनकपुर उपमहानगरपालिकाको आर्थिक कारोबार अस्तव्यस्त हुँदा कर्मचारीहरुले कार्तिक महिनादेखि तलब पाउन सकेका छैनन् भने पालिका अन्तर्गतका शिक्षकहरुले समेत ३ महिनादेखि तलब भत्ता भुक्तानी पाउन सकेका छैनन् ।

उपमहानगरपालिकामा लेखा अधिकृतको अभावमा प्रशासकीय अधिकृत धर्मानन्द जोशीको नामबाट बैंक खाता सञ्चालन भइरहेकोमा नगरप्रमुख लालकिशोर साहले अवैध काममा समेत सिफारिस र आर्थिक कारोबार भुक्तानीका लागि दबाव दिने गरेका थिए । साहको पुसको दोस्रो सातामा सरुवा भएपछि जनकपुर उपमहानगरपालिकाको खाता नै सञ्चालनमा आउन नसकेको कारण आर्थिक कारोबार पुर्णरुपमा ठप्प भएको हो ।

तत्कालिन प्रशासकीय अधिकृत जोशीका अनुसार विभिन्न शिर्षकमा रहेको रकम मनोमानी ढंगले अवैध तरिकाले अनियमितता गर्न दवाव दिदाँ आफुलाई पछि सरुवा गराइदिएको बताए ।

नगर प्रमुख साहले कार्यकर्ता, आसेपासे र नातेदार पाल्न अधिकृत जोशीलाई विभिन्न अवैध काममा सिफारिस र नभएका कामहरुको पनि भुक्तानी दिन दबाव दिदै आएको कारण उनी आएदेखि नै तनावमा थिए । त्यस्तै लेखा अधिकृत आशुतोष ठाकुरलाई नगरप्रमुख साहले आफु अनुकुल नै काम गर्न भन्दै विल भुक्तानी फर्छयौटका लागि दबाव दिने गरेका कारण उनी पनि अहिले १० दिने शैक्षिक विदाको बहाना बनाई बिदामा बसेको एक कर्मचारीले बताए ।

आर्थिक कारोबार ठप्प हुँदा दिनहुँ दर्जनौ व्यक्ति भुक्तानीका लागि उपहानगरपालिका धाउने गरेका छन् भने कर्मचारी तथा शिक्षकहरु समेत तलब नपाउँदा तनावमा छन् । उनीहरुले तलब भत्ताको यथाशिघ्र व्यवस्था नगरिए उपमहानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

LIVE TV