२७ माघ २०७६, सोमबार

काठमाडौं, २७ माघ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवर्द्धककम्पनीलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ ।

प्रवर्द्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख केके शर्माका अनुसार एलओआईसँगै विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।

गत पुसको पहिलो साता बङ्गलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले जीएमआरसँग विद्युत् खरिद सम्झौताका लागि स्वीकृति दिएको थियो । एलओआई पाएपछि जीएमआरले बैङ्क जमानतस्वरूप ५० लाख डलर र खरिद सम्झौताका कागजात पेस गर्ने प्रक्रियामा लागेको शर्माले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

LIVE TV