२६ माघ २०७६, आईतवार
  • रामहरि गजुरेल,

नुवाकोट, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशको नाम र राजधानी बाध्यात्मक परिस्थितिका कारण आफूहरुले तोकिदिएको बताउनुभएको छ ।

प्रदेश सरकारको अनुरोधमा पार्टीले हेटौँडालाई प्रदेश राजधानी र नाम बागमती राख्न सहजीकरण मात्रै गरेको स्पष्ट पार्दै जनता र जनप्रतिनिधिको रोजाईमा यो निर्णय चित्तबुझ्दो नभए पुनः हेरफेर हुनसक्ने बताउनुभयो ।

शनिबार नुवाकोटमा आयोजित प्रथम पञ्चकन्या चेयरमेन भलिबल प्रतियोगिताको उद्घाटन गर्न पुग्नुभएका अध्यक्ष प्रचण्डसमक्ष नुवाकोटका नेता तथा जनप्रतिनिधिले हालको बागमती प्रदेशका विषयमा असन्तुष्टी जनाएपछि प्रदेशको राजधानी किन मकवानपुर ? भन्ने प्रश्नको जवाफ दिँदै यस्तो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो प्रदेशको नाम राख्न र राजधानी तोक्न तपाईहरुले सहयोग गरिदिनुप¥यो भन्यो भने पार्टी नेतृत्वसमक्ष तोक्नुपर्ने नैतिक जिम्मेवारी आउँदो रहेछ । हामी सकेसम्म आफूले तोक्न नपरोस् भन्ने चाहन्थ्यौँ ।’

उहाँले फेरि भन्नुभयो, ‘पहिल्यै तोकिएको अस्थाई राजधानीका कारण अर्को जटिल परिस्थिति आउन नदिनका लागि अहिलेलाई यो भन्दा अर्को विकल्प हामीले देखेनौँ ।’

उहाँले भन्नुभयो, ‘देशकै राजधानी त सार्न छलफल हुनसक्छ भने प्रदेशको राजधानीको बारेमा त झन सजिलैसँग छलफलको विषय बन्नसक्छ ।’

आफूले जनप्रतिनिधिहरुको भावनालाई बुझेको र त्यसको कदर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकपटक टुङ्गिइसकेको ठाउँ यताउता सार्दा फेरि देशैभर अराजकता, अन्यौलता आउने हो कि ? भन्ने चिन्ताले अहिले जहाँ छ त्यही राखौं, भनेको मात्रै हो । अहिले अर्को तरिकाले जान खोज्यो भने हामी नेतृत्वमा बसेकाहरुले अफ्ठ्यारो स्थिति आउने देख्यौँ । त्यसैले अहिले जे छ, त्यही गरेर जाउँ भनिएको हो ।’

उहाँले अन्य प्रदेशको नाम र राजधानी प्रदेश सरकारले नै तोकेको प्रष्ट पार्दै भन्नुभयो, ‘कर्णाली हामीले तोकेको होइन, सुर्खेत राजधानी हामीले तोकेको होइन, सुदूरपश्चिम नाम र गोदावरी राजधानी हामीले तोकेको होइन, गण्डकी नाम र पोखरा राजधानी हामीले तोकेको होइन ।’

उहाँले फेरि थप्नुभयो, ‘यहाँ पनि प्रदेशले नै तोकोस् भन्ने हाम्रो चाहना थियो । तर, प्रदेशको पार्टी कमिटी र प्रदेश सरकारले नाम र राजधानी टुंग्याइदिनुप¥यो भनेपछि हामीले सहजीकरण गरेका हौं ।’

‘आफूले सोचेजस्तो संघीयता नै आएन’

अध्यक्ष प्रचण्डले संघीय प्रणाली आफूहरुले सोचेको जस्तो नभएको बताउनुभएको छ । जुन हिसाबले सोचेर संघीयताको कुरा गरिएको थियो, त्यसअनुरुप नभएको भन्दै यसमा पुनर्विचार गर्न सकिने धारणा राख्नुभयो ।

‘हाम्रो संघीयता जसरी सोचिएको हो र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र कोर्दै गर्दा मैले त्यसको नेताको हैसियतले जे सोचेको हो, त्यस्तो यो छैन । यो अर्कै खालको संघीयता आएको छ । संघीयता त संघीयता नै हो तर, यो आफ्नै खालको संघीयता भयो । सम्झौता गर्दै जाँदा त्यस्तो हुनपुग्यो ।’

उहाँले संघीयताबारे भोलिका दिनहरुमा बहस गर्न र संविधानमै संशोधन गरेर जान सकिने व्यवस्था रहेकाले परिमार्जन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानले परिमार्जन र संशोधन गर्न सकिन्छ भनेको छ । सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताबाहेक सबै कुरा संशोधन हुनसक्छ, हामीले भनेकै छौं, त्यसमा छलफल हुन सक्छ ।’

नुवाकोट अब त्रिदेशीय रणनीतिक र आर्थिक विकासको ट्रान्जिट

उहाँले नुवाकोटका जनताको विकास र संघीयताको मर्मअनुरुप सुगमताको आशाको भावनालाई कदर गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

देशकै इमान्दार र राष्ट्रको लागि योगदान दिने दिवंगत नेता पोष्टबहादुर बोगटीको जिल्ला नुवाकोट भएकोले आफ्नो र प्रधानमन्त्री केपी ओलीसमेतको ध्यान केन्द्रित भएको जानकारी दिनुभयो ।

नुवाकोट जिल्ला इतिहासदेखि नै रणनीतिक महत्वको क्षेत्र रहेको र सुरुङमार्ग, रेलमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणले पनि यो जिल्ला नेपाल, भारत र चीनबीचको रणनीतिक केन्द्र एवं आर्थिक विकासको ट्रान्जिट बन्ने भएकोले देशकै प्रमुख स्थानको रुपमा कायापलट गर्नसक्ने सम्भावना रहेको बताउनुभयो ।

यसका साथै राजधानी काठमाडौंको बढ्दो जनघनत्वले उकुस–मुकुसको पीडाबाट मुक्ति खोज्ने स्थानको विकल्पमा नजिकको यो सुन्दर ठाउँ नुवाकोटमा आउन चाहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब बन्ने नेपालकै पहिलो सुरुङ मार्ग टोखा–छहरेको निर्माणले यो सहजता ल्याउनेछ । केरुङ–काठमाडौं रेलमार्ग यहिबाट निर्माण हुनेछ । राष्ट्रिय स्तरको तेल भण्डार निर्माण गर्ने योजनासमेत अघि बढिरहेको छ ।’

LIVE TV