२६ माघ २०७६, आईतवार

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताउनुभएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले भ्रन्नुभयो -‘काम हुँदै नभएको होइन तर जुन गतिमा हुनुपर्ने थियो, त्यो हुन सकेन ।’ उहाँले काममा भएको ढिलासुस्तीले जनताले अपेक्षा गरेअनुरुप लाभ पाउन नसकेको दुखेसो व्यक्त गर्नुभयो ।

‘काम ढिला भयो, अपेक्षित विकास योजना पनि समयमा सकिएन, पूँजीगत खर्च ज्यादै न्यून भयो, हामीले जुन गतिमा जान थालेका थियौ, त्यसो हुन सकेन ।’उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले विकासको गति बढाउन सरकारले अहिलेको कार्यशैली फेर्नुपर्ने बताउँदै आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।

शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गरेर आराम गरिरहनुभएका प्रधानमन्त्री बैठकलाई छोटो सम्बोधन गर्न पुग्नुभएको थियो । आफ्नो भनाई राखेर प्रधानमन्त्रीले स्वास्थ्यमा असहज महसुस भएको जानकारी गराएर बैठकबाट निस्किनुभएको थियो ।

LIVE TV