२६ माघ २०७६, आईतवार

काठमाडौं, २६ माघ । नेपालले जित्ने आशा गरिएको ओमानसँगको दोस्रो खेल पनि गुमाएको छ । ओमानले नेपाललाई ८ विकेटको फराकिलो अन्तरमा पराजित गर्दै गृहमैदानमा नै घरेलु टोलीलाई पाठ पनि सिकाएको छ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार टियू क्रिकेट मैदानमा भएको तेस्रो खेलमा पाहुना टोली ओमानले नेपालको चुनौती सहजै पन्छाउन सफल भयो ।

नेपालका बलरहरु जम्न नसक्दा ओमानका व्याट्सम्यानहरु हावी हुन पुगे । ओडीआई मान्यता पाएको कीर्तिपुरको मैदानमा यसपटक नेपालले इतिहास कोर्ने अपेक्षा गरिएको थियो ।

तर, अमेरिकालाई संघर्षपूर्ण खेलमा हराएको नेपालले ओमानलाई भने तह लगाउन सकेन ।

नेपालले दिएको २ सय ५० रनको चुनौतीपूर्ण लक्ष्य ओमानले २ विकेटको खर्चमा १६ बल बाँकी रहदा नै छिचोल्यो ।

प्रारम्भिक दुई व्याट्सम्यान जितेन्दर सिंह र कनवर अलीलाई गुमाएपछि आएका अकिब इलियास र जिसान मकसुदको साझेदारीको अगाडि नेपाली टोली निरीह सावित भयो ।

अकिब इलियासले १ सय ८ बलको सामना गरेर १२ चौका र १ छक्काको सहयोगमा नटआउट १ सय ९ रन बनाए भने कप्तान मकसुदले ७९ बलको सामना गरेर ८ चौकाको सहयोगमा नटआउट ६८ रनको योगदान गरे । यस अघि जितेन्दर सिंहले २३ र कनवर अलीले ४१ रनको योगदान गरेका थिए ।

नेपालका बलरहरुमा अझ बढी आश गरिएका सन्दीप लामिछाने आज पनि नराम्ररी पिटिए । १० ओभर बलिङ गरेर ६५ रन दिए पनि १ विकेट पनि खोस्ने सकेनन् । सुशन भारी र कुशल मल्लको नाममा १/१ विकेट रहयो ।

यस अघि नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य पेश गरेको थियो । आइतबार टियू क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाउन सफल भयो ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पारी खेले । ज्ञानेन्द्र मल्ल ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन जोडे । उनको एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक हो । यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो ओडीआई डेब्यू खेलमा ५१ रन जोडेका थिए ।

पूर्व कप्तान पारस खड्काले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोड्न सफल भए । सुवासले ४२ बलमा १ चौका प्रहार गर्दै २२ रन जोडे । कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोड्न सफल भए आरिफ शेखले पनि ४५ बलमा २८ रन जोडे ।

त्यस्तै करण केसीले १६ बलमा १० रन, सन्दीप लामिछानेले ७ बलमा एक छक्का प्रहार गर्दै १० रने जोडे भने कमल ६ ऐरीले बलमा एक चौका प्राहर गर्दै ९ रन जोड्न सफल भए ।

विनोद भण्डारीले ४७ बलमा ५ चौका प्राहर गर्दै ३५ रन जोडे । विनोदले शनिबार भएको अमेरिसँगको खेलमा ५९ रन जोडेका थिए ।

दीपेन्द्र सिंह ऐरी भने शून्य रनमै आउट भए । हिजो शनिबार भएको अमेरिकासँगको खेलमा पनि दीपेन्द्र शून्यमा आउट भएका थिए ।

यस अघि पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भएको थियो ।

LIVE TV