२६ माघ २०७६, आईतवार
  • तारा आचार्य,

विराटनगर, २६ माघ । प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसले अवरोध गरेपछि आइतबारको बैठक स्थगित भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा पार्टी हेरेर मुद्दा चलाउने निर्णय गरेको विरोधमा नेपाली कांग्रेस संसदीय दलले प्रदेश सभा बैठक अवरोध गर्ने निर्णय गरेको संसदीय दलका सचेतक सूयर्माराज राईले जानकारी दिनुभयो ।

प्रदेश सभा बैठक प्रारम्भ भएपछि सभामुख प्रदीप कुमार भण्डारीले पटक–पटक बस्न आग्रह गरेपनि नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सचेतक सूयर्माराज राईलाई बोल्ने समय दिनुभएको थियो ।

सचेतक राईले विभेदकारी नीति अपनाएर सरकारले कसैलाई मुद्दा दायर गर्ने, कसैलाई उन्मुक्ति दिएको भन्दै विरोध गर्नुभएको थियो ।

उहाँले एउटै प्रबृतिको मुद्दामा पक्षपात भएको आरोप समेत लगाउनु भएकोछ । उहाँले जबसम्म सरकारले न्याय दिदैन, तबसम्म संसद बैठक अवरोध गर्ने चेतावनी समेत दिनुभएको छ ।

प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा प्रस्ताब गर्ने कार्यसूची रहेको थियो । प्रदेश सभाको अर्को बैठक माघ २७ गते सोमबार २ बजेका लागि बोलाइएको छ ।

LIVE TV