२६ माघ २०७६, आईतवार
  • दान बहादुर बुढा

मुगु, २६ माघ । मुगुमा घाम ताप्ने क्रममा लडेर एक शिक्षकको मृत्यु भएको छ । नेपालगंज स्थायी घर भई मुगुको खत्याड गाँउपालिका वडा नं ३ बुगा गाँउमा रहेको कालिका माद्यमिक विद्यालयमा कार्यरत २७ वर्षीय शिक्षक जय बहादुर शाहीको घाम ताप्ने क्रममा लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार मृतक शिक्षक शनिबार गाँउ नजिकै रहेको धारामा नुहाई धुवाई गरी डिलमा घाम तापिरहेका बेला एक्कासि बसेकै स्थानबाट लडेका थिए ।

घाम ताप्न बसेको डिलबाट २०० मिटर तल खसेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर उनको
उपचारकै क्रममा शनिबार राति ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

हिमाली भिरपाखा र कठिन भूगोलका कारण बर्षेनी दर्जन बढी व्यक्तिहरुको लडेर मुत्यु हुने गरेको प्रहरीको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

LIVE TV