२५ माघ २०७६, शनिबार

जुम्ला, २५ माघ । जुम्लाको सिञ्जा गाउँपालिका वडा नम्बर २ रनुखानामा काठको पुल बनाएर खोला वारपार गर्ने गरिन्छ ।

हिउँदको समयमा काठको पुलबाट जेनतेन वारपार गरिएपनि बर्खायाममा बाढीले बगाएर कहाँ पु¥याउने हो, थाहै हुँदैन । खोलामा पक्की पुल नभएपछि स्थानीयहरु काठको पुलबाट जोखिम मोलेरै भएपनि खोला तर्न बाध्य छन् ।

खोलाको छेउमा एउटा ठिङ्ग ठडिएको पिल्लर देखिन्छ । त्यो पिल्लर पक्की पुलको पिल्लर हो । २०७३ सालदेखि उक्त पिल्लर त्यसरीनै एक्लै ठडिएर बसेको छ ।

एउटा पिल्लर बनाएर भागेका ठेकेदार फर्केएर नआएपछि यो पिल्लरले अर्को साथी पाएको छैन । २०६९ सालमा कालिकोटका बबरजंग बमले शान्ति राम जेभीसँग जोइन्ट भेन्चरमा सो पुल निर्माण गर्ने जिम्मा लिएको थियो ।

२०६९ देखि २०७३ सम्ममा एउटा पिल्लर ठड्याएका ठेकेदार अहिलेसम्म निर्माण स्थलमा फर्केका छैनन् । पुल नबन्दा खेप्नु परेको सास्ती त छँदै छ, त्यसमाथि पनि कामदारहरुले काम गरेको ज्याला समेत पाएका छैनन् ।

पुलको पिल्लर बनाउने क्रममा बालुवा बोकेको, गिट्टी कुटेको, निर्माण सामग्री ढुवानी गरेको पैसा हालसम्म पाउन सकेका छैनन् । स्थानीयले ज्याला बापतको २५ लाख भन्दा बढी रकम ठेकेदारसँग लिनुपर्ने छ । तर, तीन वर्षदेखि ठेकेदार नै फर्केका छैनन् ।

हिमा नदीको पश्चिममा रहेको कर्णाली राजमार्गको नाग्म गमगढी सडक खण्डसँग हिमा नदीको पूर्र्वमा रहेको बस्ती हुँदै सदरमुकाम जोड्ने उदेश्यले यो पुलको निर्माण कार्य सुरु गरिएको थियो ।

तर, अहिले पुल अलपत्र अवस्थामा छ । तीन बर्षअघि राखिएको असी बोरा सिमेन्ट, सरिया र मिक्सचर मेसिन बेबारिशे अवस्थामा फालिएका छन् ।

ठेकेदारले पहिलो किस्ता बापतको पाउनुपर्ने सबै रकम भुक्तानी पाइसकेको छ । ठेकेदारले काम नगरेको र आफूहरुले पाउनुपर्ने ज्याला समेत नपाएको विषयमा जिल्ला समन्वय समितिमा गुनासो गर्न जाँदा तत्कालीन जिल्ला बिकास समितिले सम्झौता गरेकाले अहिले आफूहरुलाई जानकारी नभएको भन्दै पन्छिने गरेको स्थानीयको गुनासो छ ।

LIVE TV