२५ माघ २०७६, शनिबार
  • विनय तिम्सीना

इलाम, २५ माघ । इलाममा भोलीदेखि (आइतबार) इलाममा शुरुहुने पाँच दिने ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाडौंको आयोजना, इलाम नगरपालिकाको साहित्य कला संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव गर्न लगाइएको हो ।

‘लोक नाटक, लोक संस्कृति लोप हँुदै गएकोले यसलाई संरक्षण गर्न महोत्सव आयोजना गरिएको’ आयोजकले बताएको छ । रङ्गमञ्चमा धेरै परिवर्तन र उत्तारचढाव आइसकेकोले प्रयोगको नाममा नेपाली परम्परका संस्कृति हराउँदै जाने भएकाले पनि लोक नाटक महोत्सवको आवश्यकता रहेको आयोजकले बताए ।

भ्रमण वर्ष २०२० लार्ई लक्षित गरी नाटकलाई पर्यटनसँग जोड्नको लागि महोत्सवमा सहभागीहरुले इलामको पर्यटकीय स्थानको बारेमा जानकारी पाउने भएकोले इलामको प्रचार समेत हुने इलामका सहआयोजक बताउँछन् । नाटक महोत्सवमा ७ वटै प्रदेशको एक – एक वटा नाटक मञ्चन हुनेछन् । संस्थानले सबै प्रदेशबाट प्रतिनिधित्व रहनेगरी नाटक छनौट गरीसकेको छ भने सहआयोजक चेतना नाट्य समूहले पनि एउटा नाटक प्रस्तुत गर्ने भएको छ ।

प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमारको मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ निश्चय भइसकेको छ । इलाममा रहेको चेतना नाट्य समुहले आयोजकको तर्फबाट ‘थान’ एउटा नाटक प्रस्तुत गर्ने भएको छ ।

नाटक सम्बन्धी क्रियाकलाप खासै आयोजना नहुने भएकाले नाटक महोत्सवले मोफसलमा बसेर नाट्य क्षेत्रमा लाग्नेलाई थप प्रेरणा मिल्ने नाट्यकमी सुरेश पोर्तेलले बताउँछन् । नाटकमा लाग्दै गरेकाहरुका लागि महोत्सवबाट धेरै कुराहरु सिक्न सकिने अपेक्षा छ । योसँगै युवा पुस्ताले नेपाली लोक परम्परा संस्कृतिको बारेमा जानकारी पाउने पोर्तेलले बताए ।

LIVE TV