२५ माघ २०७६, शनिबार

धनुषा, २५ माघ । धनुषाको नगराइन नगरपालिका २ स्थित राघोबाबा प्राथमिक विद्यालयका विषयमा हामीले रिपोर्टिङ गरेपछि मेयरले अनुगमन गरेका छन् ।

विद्यालयका अधिकांश शिक्षक अनुपस्थित, डेक्स बेञ्चको अभाव, विद्यालयको कक्षा कोठाभित्र पशु चौपाए बाँध्ने गरेको विषयमा हामीले रिपोर्ट प्रशारण गरेका थियौं ।

यस बिषयमा लाइभमा कुरा गर्दै नगराइन नगरपालिका मेयर परमेश्वर यादवले आफूलाई विद्यालयको उक्त अवस्था बारे जानकारी नभएकाले अुनगमन गर्ने बताएका थिए ।

रिपोर्ट प्रशारण भएको भोलिपल्टै मेयरसहितको टोली विद्यालयको अनुगमनमा पुगेको थियो । मेयर आफैले विद्यालयको भवन, कक्षाकोठा, डेस्क बेञ्च बारे प्रधानाध्यापकलाई सोध्दा उनले स्टोर कोठामा थन्किएको भन्दै भाँचिएका डेस्क बेञ्च देखाइदिए ।

साथै विद्यालयको कक्षा कोठामा स्थानीयले भाँडा कुँडा राखेर विद्यार्थीलाई चौरमा पढाइरहेका थिए । मेयरले भाँडाकुँडा हटाउन समेत निर्देशन दिए ।

विद्यालयका प्रधानाध्यापक राघवेन्द्रलाल कर्णले भट्टी पसल नजिकै भएका कारण रक्सीका बोत्तल विद्यालयमा भेटिएको दाबी गरे । त्यस्तै स्थानीयले जबरजस्ती चाबी खोसेर पशु बाँध्ने गरेको आरोप पनि लगाए ।

विद्यालयको यो विषयमा अहिलेसम्म कुनै सूचना नगरपालिकामा नभएकाले अब विद्यालय अनुपस्थित हुने शिक्षकको तलब रोकिदिने, नगरपालिकाले तत्काल डेक्स बेञ्च तथा कक्षा कोठा व्यवस्थापन गर्ने मेयर यादवले प्रतिबद्धता जनाए ।

जनकपुरको राघोबाबा प्राथमिक बिद्यालय एउटा उदाहरण मात्र हो, तराईका अधिकांश सरकारी स्कुलहरुको अवस्था यो भन्दा फरक छैन ।

LIVE TV