
काठमाडाैँ, २५ माघ । माघ महिनाको कठ्यांग्रिने चिसोमा बिहान सबेरै उनीहरु बाग्मती सफाईका लागि सहभागि भैसकेका थिए । हाम्रा अग्रजले छाडेर गएको दुर्गन्ध अब हामी सफा गर्छौं भन्दै कसिएका गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित चाल्र्स डार्बिन एकेडेमीका विद्यार्थीहरु परिवर्तनको शुरुआत आफैंबाट हुनुपर्ने विषयमा जानकारी राख्दथे ।

बाग्मती सफाइ अभियानको ३१३ हप्तासम्म आइपुग्दा समेत बाग्मतीमा फोहोर फाल्ने क्रम नरोकिएपछि माथिल्लो भेगको बाग्मती सफाई अभियानको नेतृत्व गर्दै आएको बाग्मती सुन्दरता सरोकार मञ्चले गत हप्ताबाट स्थानीय विद्यार्थीहरुको सहभागितामा बाग्मती सफाइ अभियानलाई निरन्तरता दिएको हो । जस अन्तर्गत नदी किनारमा विद्यार्थीहरुलाई बाग्मती सफाइको महत्व र आवश्यक्ताका बारेमा जानकारी गराइन्छ र उनीहरुलाई सफाइ संस्कृतिका बारेमा समुदायमा चेतना भर्न र सफाइ सम्बन्धमा अभिभावकत्व ग्रहण गर्न आग्रह गरिन्छ ।
अभियानको प्रारम्भमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्यालले नदी सफाइमा नगरपालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने जानकारी गराउनुभएको थियो । यसैगरी अभियन्ता उत्तम पुडासैनीले विद्यार्थीहरुलाई सफाइ अभियानको आवश्यक्ताका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक युवराज काफ्लेले सफाइ अभियानमा विद्यालयका तर्फबाट निरन्तर सहभागिताका लागि प्रतिबद्धता जनाउनुभयाे । २०७६ माघ २५ गतेको सफाइ अभियानमा विद्यार्थीसहित १२० जनाभन्दा बढीको सहभागिता रहेको ।