२५ माघ २०७६, शनिबार

एजेन्सी, २५ माघ । नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने चीनको वुहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ ।

स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको जानकारी दिएका छन् ।

उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।

हुवेई प्रदेशको महत्वपूर्ण सहर वुहानमा सङ्क्रमण नियन्त्रणका लागि सबैभन्दा बढी ध्यान दिइएको बताइएको छ ।

चीनको राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ ।

चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रवार आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।

LIVE TV