२५ माघ २०७६, शनिबार
  • बालविक्रम कार्की

रौतहट, २५ माघ । पर्यटन विकासको प्रचुर सम्भावना भएर रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको हेतिहासिक जंगे झरना प्रचार प्रसारको अभावमा पछाडि परेको छ ।

यो ऐतिहासिक जंगे झरना पनि पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको स्थान हो ।

यो झरनाको इतिहास पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणासँग जोडिएको छ । उनी तराइमा सिकार खेल्न आउँदा यसै क्षेत्रमा आउने गरेको स्थानीयहरु बताउँछन् । जंगबहादुरले शिकार खेल्ने क्रममा यस क्षेत्रमा मनोरञ्जन गर्न आउने गरेको इतिहासमा उल्लेख भएकाे पाइन्छ ।

जंगबहादुर राणा आफ्ना सैनिकसहित यस क्षेत्रमा आउने र यहाँ रहेको हात्तीदमार क्षेत्रमा आफ्ना र सेनाहरुको हात्ती बाँध्ने गरेको इतिहास रहेको स्थानीयको भनाइ छ ।

जंगबहादुरले यस झरनाको कुण्डमा नुहाँएर हाल चन्द्रपुर १ मा रहेको प्रसिद्ध धार्मिक स्थल पौराइ ब्रह्म बाबाको मन्दिरमा गएर पुजा गर्ने गरेको लोक कथन रहेको छ । सो मन्दिर मन्दिर पनि जंगबहादुरले नै स्थापना गरेको किम्बदन्ती रहेको छ ।

तराई क्षेत्रमा वर्षातको समयमा सिकार खेल्न जाँदा जंगबहादुर पौराइमा बास बसेको र उनका सम्पुर्ण सेना हराएकाले त्यहाँ ब्रम्हास्थानको स्थापना गरी नजिकै भगवतीको स्थान बनाई पूजा-अर्चना गरेपछि सेनाहरु भेटिएको भन्ने किम्बदन्ती रहिआएको छ ।

यस मन्दिरमा सच्चा मनले भाकल गरे मनले चाहेका हरेक कुराहरु पुरा हुन्छन् भन्ने मान्यता रही आएको छ ।

सुन्दरताको अनुपम नमुना

चुरेको फेदीमा रहेको जंगे झरना हेर्नलाई निकै मनोरम देखिन्छ । पूर्व–पश्चिम लोकमार्गबाट ११ किलोमिटर उत्तरमा रहेको यस झरनामा पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन् । यो झरना प्राकृतिक सुन्दरताको अनुपम नमुनाको रुपमा रहेको छ । झरनाको कुण्डको खोँचमा विभिन्न नागहरुको आकृति रहेका छन् ।

हात्तिदमार क्षेत्र पुगेपछि जंगलको बीचबाट अनि खोँचमा अवस्थित मार्फा खोलाको बगरैबगर करिब २० मिनेटको पैदल यात्रापछि यो झरनामा पुुग्न सकिन्छ । विशेषगरी गर्मी याममा यस झरनामा नुहाउन र कुण्डमा पौडी खेल्न पर्यटकहरु आउने गरेका छन् ।

हिमाली , पहाडी क्षेत्रहरुमा धेरै स्थानहरुमा झरना रहे पनि तराईमा भने झरना विरलै देख्न पाइन्छ । त्यसैले पनि यो झरना तराई अझ विशेष गरी प्रदेश नम्बर २ भ्रमण गर्ने पर्यटकहरुको लागि विशेष आर्कषण हुनसक्ने स्थानिय शिसु कल्याण प्राविका शिक्षक तिलक श्रेष्ठको भनाइ छ । उहाँले यसको विकासको लागि स्थानिय, प्रदेश र केन्द्र सरकार पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रचार प्रसारमा लागे स्थानीय

जंगे झरनाको संरक्षण तथा प्रचार-प्रसारको लागि स्थानीयहरु लागि परेका छन् । स्थानीयहरुको पहलमा हात्तिदमार क्षेत्र पर्यटन विकास समिति गठन भएको छ । सो समितिले चन्द्रपुर नगरपालिका र अन्य विभिन्न निकायहरुको सहयोगमा यस क्षेत्रमा पर्यटनको विकासमा लागि परेको छ ।

समितिका अध्यक्ष टेकनाथ खरेल प्रयाप्त प्रचार प्रसार भए जंगे झरना प्रदेश नम्बर २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुहुन्छ । सो क्षेत्रमा झरना मात्र नभएर पर्यापर्यटनको पनि विकासको सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

सो क्षेत्रमा रहेको जंगलमा पारिजात, वेल, हर्रो , वर्रो, खयर, च्युरी, सतिसाल, भोर्ला लगायत जडिबुटीजन्य वनस्पति तथा मयुर, घोरल, चितल, मृग, बँदेल, थार, दुम्सी, भालु, कालिज, पाटेबाघ लगायत जनावर पनि अवलोकन गर्न सकिने खरेल बताउनु बताउनुहुन्छ ।

४० लाख बजेट

सो क्षेत्रमा पर्यटनको विकासको लागि चन्द्रपुर नगरपालिकाले यस आर्थिक वर्षमा ४० लाख बजेट छुट्याएर काम थालनी गरेको छ । सो बजेट सो क्षेत्रसम्म पुग्ने बाटो, पिकनिक स्पटलगायत आवश्यक पर्यटकीय पूर्वाधारमा खर्च गरिने चन्द्रपुर- २ का वडाअध्यक्ष दुत्त बहादुर थिङ्ग बताउनुहुन्छ ।

यसअघि पनि सो क्षेत्रमा नगरपालिकाको रु २० लाखको सहयोगमा झरनासँग पुग्ने ट्रयाक निर्माण, दुइटा पिकनिक सेड, बस्ने स्थान, भर्याङ्ग लगायतका पूर्वधार निर्माण गरिएको थिङ्गले जानकारी दिनुभयो ।

भविष्यमा सो स्थानमा रहेका घरहरुमा होमस्टेको सुविधा सहित पूर्वधार निर्माण गर्ने तथा डाडाँमा भ्यू टावर बनाउने चन्द्रपुर नगरपालिकाको योजना रहेको छ । यदि तीनै तहको सरकारले यस्ता पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई विकास र प्रचारप्रसारमा ध्यान दिने हो भने नेपाल भ्रमण वर्ष २०२० मा थप नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास हुने थियो ।

LIVE TV