२५ माघ २०७६, शनिबार

काठमाडौं, २५ माघ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालको सुरुवात खराब हुँदो पछिल्ला क्रमका व्याट्सम्यानमाथि दबाब बढेको छ ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रेको नेपालको सुरुवात नै आज पनि कमजोर रहयो । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल पनि २१ रनमा आउट भए ।

खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै बाहिरिदा पूर्व कप्तान पारस खड्का १९ रन बनाएर आउट भए । त्यस्तै आरिफ शेख दुई पनि २ रन बनाएर पेभेलियन फर्किएर । अहिले कुशल मल्ल र विनोदसिंह भण्डारले नेपालको मोर्चा सम्हालिरहेका छन् । यी दुईबीचको राम्रै समझदारीले नेपालले १ सय रन नघाएको छ ।

विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको खेलमा शरद घाइते भएपछि सुवास झण्डै डेढ वर्षपछि नेपाली टोलीमा फर्किएका हुन् । प्रारम्भिक ब्याटस्म्यानका रुपमा कप्तान ज्ञानेन्द्र मल्लसित खेल्न आएका सुवासले दर्शकलाई टोलीमा फर्कनु औचित्य पेश गर्न सकेनन । ओमानसँगको खेलमा चोट बोकेका शरदलाई चिकित्सकले १० दिन आराम गर्न सल्लाह दिएका छन् । चोटका कारण शरदले आजको खेलसँगै बाँकी दुई खेल पनि गुमाउने निश्चत भएको छ ।

सिरिजको पहिलो खेलमा ओमानविरुद्ध शरदले ५५ रन बनाएका थिए । ओमानविरुद्धको खेलमा पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङ आरम्भ गर्न मैदानमा आएपनि प्रभावकारी प्रदर्शन गर्न चुकेका थिए । सो खेलमा पारसले ती रन तथा ज्ञानेन्द्रले एक रन मात्र बनाउँदा नेपाल ओमानसँग १८ रनले हार्न पुगेको थियो ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले हार्दै तालिकामा अङ्कविहीन अवस्थामा छ । डिभिजन टुमा हालसम्म अमेरिकाले नौ खेल खेलिसकेको छ । ओमानसित अमेरिका छ विकेटले पराजित भए पनि १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

तीनवटै टोलीले यो सिरिजमा चार चार खेल खेल्नेछन । माघ २९ गतेसम्म चल्ने सो सिरिज अन्तर्गत नेपालले तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

सन् २०१७ पछि नेपालले पहिलो पटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनशीप खेलेको थियो ।

आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन्। उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।

लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन्। उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ ।

विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । – रासस

LIVE TV