२५ माघ २०७६, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ, २५ माघ । कारागार शाखा घोराहीलाई ज्ञानज्योति विद्यालय नामाकरण गरी कैदीलाई पढाउन शुरु गरिएको छ ।

३० जना कैदीबन्दीले विद्यार्थीको रुपमा नियमित अध्ययन गरिरहेको कारागार शाखाले जनाएको छ । कैदीबन्दीहरुलाई शिक्षा दिने उद्देश्यले कारागारमा विद्यालय स्थापना गरिएको हो ।

कारागार शाखा घोराहीमा क्षमता ७० जनाको भए पनि क्षमताभन्दा धेरै ३०६ जना कैदीबन्दी छन् । उनीहरूलाइ कारागारभित्रै शिक्षा दिइन थालेकाे हाे ।

अंग्रेजी र नेपाली भाषाको कक्षा कारगारमा सञ्चालन गरिएको छ । टिनले बारेको सानो कोठाको भित्तामा नेपाली वर्णमालासँगै अंग्रेजी वर्णमाला टाँगिएको छ ।

कारागारभित्रको कक्षाकोठालाई सजाइएको छ । ठुलो पर्खालभित्रको कारगारको उक्त कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थीको कमी पनि छैन । अटाई नअटाई केही पढ्न र सिक्न चाहने कैदीबन्दीहरू उत्साहित देखिन्छन् ।

यसरी कक्षामा पढ्न आउनेमध्ये लामो कैद सजाय र जरिवाना तोकिएका तथा केही भने भर्खरै सजाय र जरिमाना तोकिएका कैदी पनि छन् । जसमा जाेगीदेखि अनपढ युवासम्म देखिन्छन् ।

कारणवश घटनामा संलग्न भई कैद भुक्तानी गर्दा पढ्न नपाएकाहरुका लागि कारागारभित्र सञ्चालन गरिएको ज्ञानज्योति विद्यालय वरदान नै सावित भएको नेपाली विषय अध्ययन गरिरहेका कैदी रेशमबहादुर बुढाथोकीले बताए ।

विगत १२ वर्षदेखि कैदी जीवन बिताइरहेका अग्रेजी विषयमा अध्ययनरत कैदी प्रेम चौधरी पनि कारागारमा पढ्न पाउने अवसर प्राप्त भएकाले खुसी देखिन्छन् । पढ्न नपाएका ६५ वर्षीय अम्मरबहादुर यादवले कागजपत्रमा ल्याप्चे लगाउने बाध्यता थियो । तर कारगारभित्र पढ्न शुरु गरेपछि हस्ताक्षर गर्न सक्ने र सामान्य हिसाबकिताब मिलाउन सक्ने भएका छन् ।

यस्तै अर्का कैदी जितबहादुर महराले भने, ‘विगतमा गरेको गल्तीबाट पाठ सिकेर अब पढाइ गरेर नैतिकवान् बन्ने चाहना छ ।’

अनौपचारिक शिक्षा दिनका लागि कारागारभित्र विद्यालय स्थापना गरिएको कारागार शाखा घोराहीका प्रमुख(जेलर) विष्णुप्रसाद पाण्डेले बताए । शिक्षक पनि कम्तीमा प्रवीणता प्रमाण-पत्र तहसम्म पढेका कैदीमध्येबाटै छानिएकाे पाण्डेले जानकारी दिए ।

शिक्षकको जिम्मेवारी पाएका कैदी प्रकाश परियारले गरेको गल्तीको सजाय भोग्न कारागारमा बन्दी जीवन बिताइरहँदा आफूले पाएको अवसरका कारण खुशी लागेको बताए । यसैगरी अंग्रेजी भाषा शिक्षकको जिम्मेवारी पाएका मानबहादुर नेपालीले पनिआफुसँग भएको सीपलाई सदुपयोग गर्ने बताए ।

दाङको घोराही कारागारभित्र करिव ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका ७० प्रतिशत कक्षा ७ सम्म पढेका र बाँकी सबै निरक्षर कैदीबन्दी छन् । दाङमा दुईवटा कारागारमध्ये तुलसीपुर कारागार शाखामा भने विद्यालय सञ्चालन गरिएको छैन ।

LIVE TV