२५ माघ २०७६, शनिबार

दोलखा, २५ माघ । कालिञ्चोक गाउँपालिका–२ बाबरेस्थित सिस्नेरी गाउँको सिरानबाट बाक्लो जंगल सुरु हुन्छ। दुई घन्टा हिँड्दा पनि छिचोल्न मुस्किल पर्ने उक्त जंगलभित्र मिलेका गराहरू टन्नै भेटिन्छन्।

उत्तिस, सल्लोसहितका रूख पार गर्दै, झाडी पन्छाउँदै अघि बढ्दा बारीमै हिँडिरहेको अनुभूति हुन्छ। त्यहाँबाट छोक्सासम्म झन्डै पाँच हजार रोपनी खेतीयोग्य जमिन डेढ दशकको अन्तरालमा बाक्लो जंगलमा परिणत हुन पुगेको छ।

स्थानीयका अनुसार १५ वर्षअघि त्यहाँ वर्षमा दुई बाली लगाइन्थ्यो । ठाउँठाउँमा गाईगोठ हुन्थे । कुनै बेला त्यहाँ ८५ घरधुरीको बसोबास थियो । अहिले त्यो गाउँ १० घरधुरीमा सीमित बनेको छ । व्यापक बसाइँसराइ अनि खेतीपाती गर्नेहरूको कमी हुँदै गएपछि सिस्नेरी गाउँमाथिको सबै खेतीयोग्य जमिन रूखले भरिन पुगेको हो।

मेलुङ गाउँपालिका–४ भेड्पुको मजुवा खेतमा १२ वर्ष अघिसम्म लहलह धान झुल्थ्यो। स्थानीय तामाङ र नेवार परिवारको स्वामित्व रहेको त्यहाँको जमिनमा खेती लगाउन छाडेको दशक नाघिसक्यो।

स्थानीयका अनुसार त्यहाँको आधाभन्दा बढी भूभाग अहिले उत्तिसघारी बनेको छ। भेड्पुको लेक र बेंसीका बीचतिर पर्ने उक्त खेतको कमाइ देखेर पहिला मानिसहरू अचम्मित हुँदै भन्थे, ‘आहा! कति राम्रो बाली, कमाइ होस् त यस्तो !’

माथिका दुई स्थान उदाहरण मात्र हुन्। सहर बसाइको बढ्दो आकर्षणले दोलखाका गाउँबस्ती खाली हुँदै गएका छन्। विगतमा अन्न भण्डारका रूपमा परिचित उर्वर जग्गाजमिन धमाधम जंगलमा परिणत हुँदै छन्। याे खबर आजको नागरिक दैनिकमा छापिएकाे छ ।

LIVE TV