२४ माघ २०७६, शुक्रबार

काठमाडौं, २४ माघ । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालले भोलि अमेरिका विरुद्ध खेल्दैछ । एसोसियट क्रिकेटमा नेपाल र अमेरीका चिरप्रतिद्धन्द्धी मानिन्छन् ।

सन् २००८ देखि विभिन्न प्रतियोगितामा खेल्दै आएका नेपाल र अमेरिकामा पल्ला भारी नेपालको छ । तर, नेपालको खराब ब्याटिङ र महत्वपूर्ण खेलाडी शरद भेस्वाकर चोटका कारण मैदान बाहिर भएपछि भोलिको खेल रोमाञ्चक बन्ने देखिएको छ ।

कुनैपनि प्रतियोगितामा अघिल्लो चरणमा पुग्न धेरैजसो खेलमा अमेरिकालाई सिकार बनाएको देश हो, नेपाल ।सन् २०१० पछि यी दुबै टोलीले कीर्तिपुरस्थित नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एकदिवसीय खेल्दैछन् । दुवै टोलीले जारी सिरिजको आफ्नो पहिलो खेल भने गुमाइसकेका छन् ।

पहिलो खेलमा ओमानसँग १८ रनले पराजय व्यहोरेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । उता, तासलकाको शीर्ष स्थानमा रहेको अमेरिका पनि बदला लिँदै दोश्रो हार बेहोर्ने पक्षमा छैन । त्यसैले पनि शनिवारको खेल रोमाञ्चक हुने विश्लेषण भइरहेको छ ।

सन् २००८ मा भएको डिभिजन ५ का खेलदेखि हालसम्म नेपाल र अमेरिकाबीच ११ खेल भएका छन् । जसमा नेपालले पाँच खेल जित्दा तीन खेलमा हार व्यहोरेको छ । त्यस्तै तीन खेल भने अनिर्णित बनेको छ । तर, यसपटक भने यो खेलअघि नै नेपाललाई धक्का लागेको छ ।

अर्थात चोटका कारण नेपाली टिमका हार्ड हिटर ब्याट्सम्यान शरद भेषावकर खेल्न नसक्ने भएका छन् । शरदलाई कम्मर माथिको भागमा चोट लागेको छ । सोही कारण उनले त्रिकोणत्मक शृंखलाका बाँकी खेल गुमाउने बताइएको छ ।

शरदले ५५ रन बनाए पनि ओमानसँगको खेलमा नेपाल १८ रनले पराजित भएको थियो । तर, शनिबारको खेलमा बैकल्पिक खेलाडी सुवास खकुरेल वा पवन शराफ दुबै मध्ये एक खेलाडीले शरदलाई रिप्लेस गर्नेछ । तर, पनि उच्च फर्ममा देखिएका शरदको अभाव भने खड्किने देखिएको छ ।

ब्याटिङ लाइन अफ कमजोर देखिएको नेपाली टिमले शरदको अनुपस्थितमा मैदान उत्रदा अझ बढी कसरत गर्नुपर्ने छ । नेपालले घरेलु भुमिमा जारी सिरिजमा अमेरिकासँग दुई तथा ओमानसँग १ खेल खेल्न बाँकी छ ।

LIVE TV