२४ माघ २०७६, शुक्रबार
  • तारा आचार्य

विराटनगर, २४ माघ । नेकपाका नेता एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालले आफ्नो सरकारको पालामा ललिता निवास प्रकरणमा कुनै भ्रष्टाचार नभएको प्रष्ट पार्नुभएको छ ।

शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै नेता नेपालले भ्रष्टाचारमा संलग्न र अनुचित कार्य गर्नेलाई कुनै उन्मुक्ति दिन नहुने र आफ्नो सरकार भएको बेलामा कसैलाई नयाँ मोही बनाउने निर्णय नभएको जानकारी दिनुभयो । उहाँले कसैलाई पनि पार्टीगत आधारमा मुद्दा चलाउने कार्य गर्न नहुने र निर्दोष फस्ने दोषी उम्कने कार्य हुन नहुने बताउनु भयो ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी बारे सोधिएको प्रश्नमा नेता नेपालले इण्डो प्यासिफिक स्ट्राटेजी संग सम्बन्धित नभएकोले एमसिसि उपयुक्त भएको र नेपालको हित अनुकुल यसलाई स्वीकार गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

नेता नेपालले एमसिसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग नभएको अमेरिकाले भनिसकेपछि गलफत्ती गर्नुको औचित्य नभएको बताउनु भयो । उहाँले यसबारे पार्टी भित्र एउटा कार्यदल बनाइएको र कार्यदलको निर्णय अनुसार एमसिसी बारे निर्णय गरिने जानकारी दिनुभयो ।

नेता नेपालले सरकारले सबैको सल्लाह र सुझावलाई आत्मसात गरेर अघि बढे सुखि नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न सकिने बताउनु भयो ।

LIVE TV