२४ माघ २०७६, शुक्रबार
  • राजन परियार,

सिन्धुली, २४ माघ । तपस्वी रामबहादुर बम्जनले आफ्नो आश्रमबाट पाँच जना अनुयायी तथा आनीहरु बेपत्ता पारेको र यौन दुव्र्यवहार गरेको आरोपमा किटानी जाहेरी परेको छ ।

यसरी तपस्वी बम्जनमाथि किटानी जाहेरी परेसँगै जिल्ला अदालत सर्लाहीले पक्राउपूर्जी जारी गरिसकेको छ । तर, विहीबार सिआईबी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित आश्रममा छापा हान्दापनि बम्जनलाई नियन्त्रणमा लिन सकेन ।

बम्जनलाई सिन्धुली आश्रमबाट नियन्त्रणमा लिन असफल भएपछि प्रहरीले अनुसन्धानका लागि उनका मुख्य सहयोगी ज्ञानबहादुर बम्जनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबार करीब ६ घण्टा सिन्धुली आश्रमलाई घेराबन्दी गरेपनि बम्जनलाई नियन्त्रणमा लिन असफल भएपछि उनका मुख्य सहयोगी ज्ञानबहादुर बम्जनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई नियन्त्रणमा लिन विहीबार अनुमति दिएसँगै शुक्रबार बिहान करीब चार बजेदेखि प्रहरीले बम्जनको आश्रममा घेराबन्दी हालेको थियो ।

विहीबार साँझसम्म तपस्वी बम्जन आश्रममै रहेको सूचनाका आधारमा प्रहरीले घेराबन्दी हालेको थियो । तर, बम्जन आश्रमबाट फरार भइसकेको प्रहरीले जनाएको छ । प्रहरी आएको थाहा पाएपछि आश्रम नजिकैको जंगलमा लुकेको हुनसक्ने आशंका गरिएको छ ।

२०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको भनिएका सुरेश आलेमगरको खोजीका लागि बारामा बम्जनमाथि किटानी जाहेरी परेको छ ।

त्यस्तै सञ्चलाल वाइबा र फूलमाया रुम्बाको खोजीका लागि मकवानपुर र सिन्धुपाल्चोककी चिनीमाया तामाङको खोजीका लागि नुवाकोट प्रहरी कार्यालयमा बम्जनमाथि किटानी जाहेरी परेको छ ।

आरोपी बम्जनको आश्रममा प्रहरीको विशेष टोलीले गतवर्षदेखि सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही र मकवानपुर जिल्लामा अनुसन्धान गरिरहेको छ ।

LIVE TV