२४ माघ २०७६, शुक्रबार

काठमाडौं, २४ माघ । ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरूको अर्बौं लगानी जोखिममा परेको छ।आयोगले बुधबार ललिता निवासको जग्गा अनधिकृत खरिदबिक्री गर्ने १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बैंकहरूको लगानी जोखिममा परेको हो।

अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरूले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए। जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो।

अख्तियार स्रोतका अनुसार बैंकहरूले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ। अख्तियारले विवादित क्षेत्रको जग्गा धितोमा राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

LIVE TV