२४ माघ २०७६, शुक्रबार

काठमाडौँ, २४ । चिकित्सा शिक्षा आयोगको निर्देशन अवज्ञा गर्दै मोरङको नोबेल र बाँकेको नेपालगन्ज मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेका छन् । विद्यार्थी र अभिभावकलाई प्रलोभन, त्रास र धम्की दिएर कलेज सञ्चालकहरूले शैक्षिक सत्रको सुरुमै बढी शुल्क असुलेका हुन् ।

२९ लाखभन्दा बढी अतिरिक्त शुल्क उठाउने प्रयास गरेको नोबेलले थप शुल्क लिन ६ जना विद्यार्थीसँग कबुलियतनामा गराइसकेको छ ।

कबुलियतनामामा भर्ना, परीक्षा लगायत शीर्षकमा थप शुल्क लिने उल्लेख छ । नोबेलले बढी शुल्क तिर्न सहमत भएका ती ६ विद्यार्थीसँग मात्र माघ १९ गते काउन्सिलिङ गरेको थियो । अधिकांश अभिभावकले बढी शुल्क नतिर्ने अडान लिएपछि कलेज प्रशासनले शुल्क नतिर्नेलाई काउन्सिलिङमा सहभागी नगराएको हो । कलेजले एमबीबीएसतर्फ १०० विद्यार्थीको भर्ना लिन पाउँछ ।

नोबेलका अभिभावकले अतिरिक्त रकम माग्ने कलेजविरुद्ध चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय गुहारिसकेका छन् । आयोग र विश्वविद्यालयले आग्रह गरिसकेकाले थप शुल्क नतिर्ने अभिभावकहरूको भनाइ छ ।

‘नोबेलका सञ्चालक सुनील शर्माले फकाएर र धम्क्याएर ६ जनासँग बढी पैसा लिएछन्,’ एक अभिभावकले कान्तिपुरसँग भनिन्, ‘बाँकी अभिभावकले बढी रकम नतिर्ने सहमति गरेका छौं, भर्नाका लागि काठमाडौं विश्वविद्यालयमा पहिलो किस्ताको रकम जम्मा भइसकेको छ, पढाइ सुरु नगरे कानुनी उपचारमा जान्छौं ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

LIVE TV