२३ माघ २०७६, बिहीबार

धनुषा, २४ माघ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ राघोपुरमा रहेको ‘राघो बाबा प्राथमिक विद्यालय’मा २५० जना विद्यार्थीहरु अध्ययन गर्छन् ।

यति धेरै विद्यार्थीहरु पढ्ने विद्यालयको कक्षा कोठामा बसेर पढ्ने बेञ्च समेत छैन । विद्यार्थीहरु त्यही विद्यालयको चौरमा चकटी ओछ्याएर पढ्न बाध्य छन् ।

स्कुलको कक्षा कोठाहरुमा स्थानीयले राति गाईबस्तु राख्नका लागि प्रयोग गर्दै आएका छन् । प्रयोगविहीन बनेका कक्षा कोठाहरुमा रक्सीको बोतल समेत भेटिएको छ ।

त्यति मात्र होइन, विद्यालयमा शिक्षकहरु समेत उपस्थित हुँदैनन्् । हाम्रो टिम रिपोर्टिङका लागि सो विद्यालय पुग्दा एक जना करारका शिक्षक मात्र उपस्थित थिए ।

जबकी उक्त विद्यालयमा ४ जना शिक्षकहरुले तलब बुझ्ने गर्छन् । त्यहाँ भेटिएका करारका शिक्षक आमोद रामलाई अन्य शिक्षक कहाँ छन् ? भनेर प्रश्न गर्दा केही बोल्न सकेनन् ।

विद्यालयमा रहेको शौचालयको हालत पनि उस्तै छ । उक्त विद्यालयमा दुई ओटा शैचालय छन् । तर, विद्यार्थीले प्रयोग गर्ने शैचालय फुटेर प्रयोग गर्ने अवस्थामा छैन ।

त्यस्तै अर्को शौचालय शिक्षकहरुले मात्र प्रयोग गर्छन् । त्यसमा पनि दुवै शौचालयमा ताला लगाएर राख्ने गरिएको छ ।

शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुले आफूखुसी गर्ने गरेकाले विद्यालयको यो हविगत भएको स्थानीयको आरोप छ ।

नगराइन नगरपालिकामा तीन करोड भारतीय अनुदानमा ६ ओटा विद्यालय बन्न लागेको छ । १० वर्ष पहिलेदेखि सुरु भएको उक्त विद्यालय भवनको निर्माण कार्य हालसम्म पनि उस्तै छ ।

विद्यालयमा कम गुणस्तरको सामान प्रयोग भएपछि स्थानीयले भवन निर्माणमा रोक लगाएका थिए । तर, त्यसपछि भवनको निर्माण कार्यले निरन्तरता पाउन सकेको छैन ।

प्रदेश नम्बर २ को राजधानी जनकपुरधामदेखि १७ किलोमिटरको दूरीमा रहेको यस विद्यालयको यस्तो हरिविजोक छ ।

सम्बन्धित निकायको लापरवाहीका कारण उज्वल भविस्यका बलियो आधार बनाउन विद्यालय गएका कलिला विद्यार्थीको सपनामाथि गम्भीर खेलबाड भएको छ ।

LIVE TV