२३ माघ २०७६, बिहीबार

काठमाडौँ, २३ माघ । भारतीय कम्पनी सतलज विद्युत निगमले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन गरेको छ ।

संखुवासभाको मकालु गाउँपालिकामा निर्माण भइरहेको आयोजनाका लागि सतलजले १ खर्ब लगानी निश्चित गर्दै आज वित्तीय व्यवस्थापन सम्झौता गरेको हो । सतलजले अरुण तेस्रो निर्माणका लागि एसजेबीएन अरुण–३ पावर कम्पनी नेपालमा दर्ता गरेको छ ।

१ खर्ब ११ अर्ब लागत अनुमान गरिएको आयोजनामा पाँच भारतीय र २ नेपाली बैंक लगानी गर्न सहमत भएका हुन् । आज भएको सम्झौताअनुसार पाँच भारतीय बैंकले ८५ अर्ब र नेपालका नबिल र एभरेष्ट बैंकले १५ अर्ब रुपैयाँ लगानी गर्ने छन् । वित्तीय व्यवस्थापन सम्झौता आज भएपनि आयोजनाको काम भने सुरु भइसकेको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैशाखमा संयुक्त रुपमा शिलान्यास गरेको उक्त आयोजनामा ३० प्रतिशत काम भइसकेको छ । लगानी बोर्डले संयोजन गरिरहेको यो आयोजना सन् २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य छ । यसबाट उत्पादन हुने ९ सय मेगावाट मध्ये १९७ मेगावाट बिजुली नेपाल सरकारले निःशूल्क पाउने छ ।

नेपाल सरकारले खुला प्रतिस्पर्धाबाट सतलजलाई अरुण तेस्रो आयोजना दिएको थियो । २०७१ पुसमा लगानी बोर्डसँग आयोजना विकास सम्झौता गरेको सतलजले अहिले वित्तीय व्यवस्थापन गरेको हो ।

LIVE TV