
काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दलका सांसद बद्रिप्रसाद पाण्डले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाउनु भएको छ । उहाँले ‘आयोगमाथि दुई तिहाइको स्वेच्छाचारी र निरंकुश छाँया त परेको होइन भन्दै प्रश्न समेत उठाउनु भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद पाण्डेले प्रधानमन्त्री प्रधान हुने शासकीय प्रणाली अनुरुप जुनसुकै निणर्य हुनुपूर्व मन्त्रिपरिषद्को एजेण्डा तय गर्ने काम प्रधानमन्त्रीको हुने तर, प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको वैठकको निर्णयमा प्रधानमन्त्री निर्दोष हुने तर मन्त्री दोषी हुने भन्दै प्रश्न पनि गर्नु भएको छ ।
उहाँले प्रकियागत रुपमा भएको कुरामा प्रधानमन्त्री सदाचारी र मन्त्री भष्ट्राचारी कसरी हुन्छ भन्दै बालुवाटार प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपाका महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दायर गर्न नसक्नुले धेरै विषय छर्लङ्ग पारेको बताउनुभयो । उहाँले सत्तापक्षका नेतालाई जोगाउने र विपक्षी दलका नेतालाई फसाउने रणनीति सरकारले लिएको आरोपसमेत लगाउनुभएको छ ।
साथै उहाँले ललितानिवास जग्गा प्रकरणमा ‘नेकपाका शक्तिशाली नेता विष्णु पौडेल सुरुवातदेखि नै मुछिएको, व्यक्तिको नाममा लिएको जग्गा फिर्ता गर्छु भन्दा निर्दोष हुने भन्दै यो कस्तो किसिमको न्याय हो भन्दै संसदको ध्यानाकर्षण पनि गराउनुभयो ।