२३ माघ २०७६, बिहीबार
  • अमर काफ्ले,

इनरुवा, २३ माघ । ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सुनसरी काँग्रेसले आन्दोलनको तयारी थालेको छ ।

गृह जिल्ला समेत रहेको सुनसरी गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले जिल्ला पार्टी कार्यालयले पत्रकार सम्मेलन गरी आन्दोलनमा होमिने जानकारी गराएको हो ।

जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सभापति राजीव कोइरालाले पार्टी उपसभापति समेत रहेका संसदीय दलका उपनेता गच्छदारमाथि लगाइएको आरोप सह्य हुन नसक्ने भन्दै उक्त कदमविरुद्ध आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले काँग्रेसमाथि जाइलागेको बताए । उनले मुद्दा फिर्ता नलिए वर्तमान सरकारविरुद्ध सडक संघर्षको विकल्प नहुने बताए ।

गच्छदारको चरित्र हत्या गर्ने नियतले ललिता निवास प्रकरणमा मुद्दा दायर गरिएको निष्कर्ष निकालेको सुनसरी काँग्रेसले जग्गा प्रकरणमा संलग्न भनिएका अन्यलाई सरकारमा रहेको पार्टीमा आबद्धताका आधारमा उन्मुक्ति दिनु काँग्रेस माथिको ठाडो प्रहार भएको बताएको छ ।

सुनसरी काँग्रेसले केन्द्रको निर्देशन मान्ने गरी जिल्ला स्तरमा आन्दोलनमा होमिने बताएको छ । सुनसरी काँग्रेसले भातृ संगठन सहित जिल्ला स्तरका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न तयारी अवस्थामा रहन समेत भनेको छ ।

गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

LIVE TV